प्रकाश न्यौपाने
बैशाख २१ गते
नवलपरासी । बर्दघाट नगरपालिका–८ लाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता प्राप्त वडा घोषणा गरिएको छ। आइतबार वडा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा एक औपचारिक कार्यक्रम गरी घोषणा गरिएको हो।
कार्यक्रमको सञ्चालन अनमी सन्ध्या शर्माले गर्नुभएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कविराज आचार्यले गर्नुभएको थियो। कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख ज्ञानप्रसाद न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै वडामा संस्थागत प्रसुति सेवा र नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको जानकारी दिनुभयो।
घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, टोल विकास संस्था, आमासमूह, युवा क्लब, खानेपानी उपभोक्ता संस्था, पूर्व जनप्रतिनिधि तथा हालका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता वृद्धि गर्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने वडा अध्यक्ष आचार्यले बताउनुभयो।