११ लाखको लागतमा कुल मन्दिर निर्माण
गल्याङ । तीनदोवाटे हुलाक श्रेष्ठ बंशले भव्यताका साथ कुलपूजा सम्पन्न गरेको छ।
बंशले स्याङ्जाको गल्याङ -८ तीनदोवाटे हुलाकमा बाजागाजासहित कुलको धर्म–संस्कृति, परम्परा र विधी अनुसार जेठ १८ गते आईतवार भव्यताका साथ कुलपूजा सम्पन्न गरेको हो । कुल-कुलायनको नाममा कुलदेवतालाई बलि चढाएर कुलबंशको रक्षा, समृद्धि र कल्याणको कामना गर्दै कुल देवताको विशेष पूजाअर्चना गरिएको बंशले जनाएको छ ।
बंंशका ज्येष्ठ सदस्य नेत्रलाल श्रेष्ठले कुलदेवता (कुल भैरम) को विधीपूर्वक पूजाआरम्भ गरेपछि सहभागी सबैले सामूहिक रुपमा धुपबत्ती र दीप प्रज्वलन गरेर कुल देवताको पूजाअर्चना गरेेका थिए । उनीहरूले फूलअक्षता, जल र प्रसाद चढाएर कुल देवताको विशेष पूजाअर्चना गर्दै कुलबंशको रक्षा, कल्याण, सुख, शान्ति र समृद्धिको कामना गरेका थिए। सो अवसरमा ज्येष्ठ सदस्य श्रेष्ठले पूजामा सहभागी सबैलाई टीकाध्वजा लगाइदिएर आशिर्वाद प्रदान गर्नुभएको थियोे । पूजा पश्चात् सहभागीहरूले आपसी सद्भावका साथ कुल पूजाको विशेष प्रसाद ग्रहण गरेका थिए। त्यस अवसरमा कुलकुलायनको जयजयकार गर्दै विशेष उत्सवका रुपमा रमाइलो समेत गरिएको थियोे ।
पूर्वज-पुर्खा दयाराम श्रेष्ठका सन्ततिहरु पहिलोपटक एकै स्थानमा भेला भई कुलपूजा सम्पन्न गर्न पाउँदा गौरवको महसुस भएको बंश संरक्षण समितिका अध्यक्ष अमरबहादुर श्रेष्ठले बताउनुभयो। हुलाके खानदानको रीतिरिवाज, परम्परा र धर्म-संस्कृतिको संरक्षण र पूस्तान्तरणका लागि दिर्घकालीन सोंच र योजनाका साथ पुर्खाकै थलोमा मन्दिर निर्माण गरेर कुलपूजा गरिएको उहाँले बताउनुभयो । “कुलपूजासँगै पुस्तौंपुस्तालाई एक सुत्रमा बाँध्ने र हुलाकेका सन्ततिलाई एकत्रित र गोलबन्दीत गर्ने हाम्रो मूख्य उद्धेश्य हो,”- श्रेष्ठले भन्नुभयो ।
हुलाके बंशको पहिलो कुलपूजा बाजागाजासहित धुमधामका साथ सम्पन्न गरिएको बंंशका कोषाध्यक्ष जेशकुमार श्रेष्ठले बताउनुभयो। बंशको इतिहासमै पहिलो र ऐतिहासिक कुलपूजाका रुपमा लिइएको यस कुलपूजालाई विशेष उत्साह, उमंग र श्रद्धाका साथ सम्पन्न गरिएको उहाँले बताउनुभयो ।
सो अवसरमा कुल मन्दिर निर्माणका लागि नि:शुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादाता र उच्च शिक्षा हासिल गर्ने सन्ततिहरुलाई सम्मानसमेत गरिएको थियोे । बंंशले हालै कुल मन्दिरको निर्माण कार्य सम्पन्न गरेको हो। झण्डै ११ लाख रुपैयाँको लागतमा कुल मन्दिर निर्माण गरिएको बंंशका सचिव भेकप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। कुलखानदानको दिर्घकालीन सोंच र बृहत् योजनाका साथ कुलायन मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो । मन्दिर निर्माणका लागि १६ घरधुरी सदस्यबाट ५० हजार रुपैयाँका दरले रकम संकलन गरिएको र थप रकम १६ घरधुरी भित्रैैका छोरा, नाति र पनातीबाट स्वईछीक रुपमा संकलन गरेर कुलमन्दिरको निमार्ण कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो । जहाँ मन्दिर सँगै ट्रस्ट समेत निर्माण गरिएको छ ।
मन्दिर निर्माणका लागि ज्येष्ठ सदस्य नेत्रलाल श्रेष्ठ, स्व.नोक प्रसाद श्रेष्ठको नाममा उहाँका छोरा जेशकुमार श्रेष्ठ र स्व. प्रेम बहादुर श्रेष्ठको नाममा उहाँकि धर्मपत्नी ज्ञानकुमारी श्रेष्ठले नि:शुल्क रुपमा जग्गा प्रदान गरेको बंशका सचिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मन्दिर निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरूलाई धन्यवाद समेत व्यक्त गर्नुभयो। नवनिर्मित मन्दिरमा सम्पन्न हुलाके बंशको पहिलो कुल पूजाले हुलाके दाजुभाइ बीचको साँस्कृतिक, सामाजिक र भावनात्मक एकतालाई अझै मजबुत बनाएको उहाँले बताउनुभयो ।
बंशले कुलखानदानको धर्म-संस्कृति, रीतिथिति र परम्पराको संरक्षण, सम्बर्द्धन र पुस्तान्तरण गर्ने उद्धेश्य अनुरुप २०७६ सालदेखि सामूहिक भेला, बैठक, कोष निर्माण, बनभोजलगायत विभिन्न खालका सामाजिक र साँस्कृतिक गतिविधिहरु गर्दै आएको छ। कुलमा बंशका पूर्वज-पुर्खा दयाराम श्रेष्ठका सन्ततिहरु १६ घरधुरी सदस्य रहेका छन् ।