बुटवलको अभियान पथमा ४६८ मिटर लम्बाईको वाउण्ड्री पर्खाल निर्माणको शिलान्यास

प्रकाशित मिति:

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १० को अभियान पथमा वाउण्ड्री पर्खाल निर्माणको शिलान्यास गरिएको छ । प्रदेश प्रहरी तालिम केन्द्रदेखि मध्यपश्चिम पृत्तना हेडक्वार्टरतर्फ गरी ४६८ मिटर लम्बाईको पर्खाल निर्माणको काम सोमबारदेखि सुरु भएको हो ।१ करोड ९ लाख ११ हजार लागत रहेको पर्खालको निर्माण काम यही असोज ३ गते सकिने बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पर्खालको शिलन्यास गर्दै पर्खाल निर्माणसँगै अभियान पथलाई ५१ फुट कायम हुने गरी सडक निर्माण गरिने बताए ।नालीसहितको सडक नहुँदा चौराहामा डुबानको समस्या हुने गरेको मेयर पाण्डेयले स्मरण गर्दै नालीसहितको सडक निर्माण हुने र ३ फुटको पैदल यात्री मैत्री सडक बन्ने बताए । उनले अब बन्ने सडक पैदल यात्रु हिड्ने फुटपाटसहितको बजारमैत्री सडक बुटवलमा बन्ने बताए ।

उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले समयमा नै काम सम्पन्न नहुँदा जनतामा नैराश्यता पैदा हुने भएकाले समयमा नै काम सम्पन्न गर्नको लागि निर्माण कम्पन्नीलाई निर्देशन दिइन । वाउण्ड्री पर्खाल निर्माणको लागि मात्र उपमहानगरपालिकाले १ करोड ६० लाख बजेट बिनियोजन गरेको बताउँदै उनले अभियान पथलाई बजार मैत्री सडक निर्माण गरिने बताइन ।बुटवल उपमहानगरपालिकाका ईन्जिनियर गोविन्द पंगेनीले पर्खाल निर्माणको लागि १ करोड ६० लाख बजेट बिनियोजन गरिएको र १ करोड ९ लाख ११ हजारमा बडिमालिका कन्ट्रक्सन प्रालिसँग उमहानगरपालिकाले ठेक्का सम्झौंता गरेको जानकारी दिए ।२०८२ असोज ३ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौंता भएको हो । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र तर्फ २०० मिटर र नेपाली सेनाको मध्यपश्चिम पृत्तना हेडक्वाटर तर्फ २६८.५० मिटर लम्बाईको पर्खाल निर्माण गरिने उनले जानकारी दिए । बुटवल उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष बलबहादुर पुनको अध्यक्षतामा आयोजना गरिएको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष सिंह राठोर , वडा सदस्य रमेश अधिकारी लगायतले बोलेका थिए ।