यान्त्रिक रोपाईंको : नवलपरासीमा पहिलोपटक मेसिनबाट धान रोपाईं

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
असार ११ गते
नवलपरासी । धान रोपाईंमा आधुनिकता ल्याउने उद्देश्यसहित नवलपरासी पश्चिमका किसानलाई मेसिनमार्फत धान रोप्न सिकाउन विशेष प्रविधि प्रदर्शन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीको पहलमा सुनवल नगरपालिका–१३ स्थित स्वाठी कृषि सहकारीको खेतमा यान्त्रिक धान रोपाईंको प्रायोगिक प्रदर्शन गरिएको हो । जिल्लामा पहिलोपटक मेसिन प्रयोग गरी धान रोपिएको हो ।
परियोजनाका वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बताउनु भयो । उहाका अनुसार, “धानमा पूर्ण यान्त्रिकीकरण गर्दै किसानलाई प्रविधिसँग जोड्ने यो पहिलो प्रयास हो । यसले समय र श्रमको बचतका साथै उत्पादन लागत घटाएर उत्पादन वृद्धि गर्ने विश्वास लिएको छ ।” विगतमा मजदुर अभावले रोपाईंमा समस्या भोग्दै आएका किसानलाई यो नयाँ प्रविधिले सहजता ल्याउने अपेक्षा गरिएको छ । चारपांग्रे ट्रयाक्टर जडित मेसिनबाट रोपिँदा खर्च परम्परागत पद्धतिमा भन्दा दुईदेखि तीनगुणा सस्तो पर्ने कृषि अधिकृत काफ्लेले जानकारी दिनु भयो।
रोपाईंका क्रममा सहभागी किसानहरू यान्त्रिक रोपाईंप्रति उत्साहित देखिए । तर, केही किसानहरू भने मेसिनले धान टाढाटाढा रोप्ने र गाजो माथि देखिने भएकाले पानी परेपछि धान नउखेलिन्छ भन्ने शंका व्यक्त गर्छन् । स्वाठी कृषि सहकारी अध्यक्ष वीरबहादुर थापाले भन्नू भयो, “अहिले हामीले पहिलोपटक मेसिनबाट रोपाईं देख्यौं, यसको उत्पादन हेरेपछि मात्र भविष्यमा यसको प्रयोग गर्ने निर्णयमा पुग्नेछौं ।”
परियोजनाले आगामी वर्ष सुनवल र रामग्राम नगरपालिकाका चार वटा वडामा सञ्चालन भइरहेको कृषि जोन कार्यक्रमअन्तर्गत किसानलाई धान रोप्ने मेसिन उपलब्ध गराएर धानखेतीको क्षेत्र विस्तार गर्ने योजना बनाएको छ ।
कृषि ज्ञान केन्द्र, नवलपरासीका प्रमुख डा. रविन्द्रनाथ चौबेका अनुसार जिल्लामा कुल ४१ हजार हेक्टर खेतियोग्य जमिनमध्ये हाल २१ हजार हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ । “यस वर्ष हालसम्म झण्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाईं सम्पन्न भइसकेको छ,” प्रमुख चौबेले जानकारी दिनु भयो ।
धान खेतीमा प्रविधिको प्रवेशसँगै अब नवलपरासीका किसानहरू आधुनिक कृषि प्रणालीतर्फ अग्रसर हुने संकेत देखिएको छ ।