लिस्बन । नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको सातौं अधिवेशन आगामी २१ सेप्टेम्बरमा राजधानी लिस्बनमा हुने भएको छ ।
महासंघको गत जुन २२ मा बसेको बैठकले आगामी २१ सेप्टेम्बरमा अधिवेशन गर्ने निर्णय गरेको महासंघका अध्यक्ष चोपकुमार मगरले जानकारी दिनुभयो । अधिवेशनको मिति तय भएसँगै निर्वाचन समिति तथा आवश्यक उपसमितिहरु गठन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
अधिवेशन सफल बनाउनका लागि पोर्चुगलमा क्रियाशील मातृसंस्थाहरुसँग समन्वय र सहकार्य भइरहेको अध्यक्ष मगरले बताउनुभयो। अधिवेशनमा सक्रिय सहभागिता जनाउन महासंघले मातृसंस्थासहित सबै सदस्यलाई विशेष अपिल गरेको छ।
अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।