बर्दघाट खानेपानीले आमा समूहलाई लक्ष्यित गरी सुरक्षा योजनाबारे अभिमुखीकरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार १९ गते

नवलपरासी । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो सेवा क्षेत्रमा रहेका उपभोक्ताहरूलाई लक्षित गरी हरियालीनगर आमा समूहका सदस्यहरूलाई खानेपानी सुरक्षा योजनाबारे सम्मानपूर्वक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।


संस्थाले उपभोक्ताहरूमा खानेपानी सुरक्षाप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले आफ्नो कार्यक्षेत्रअन्तर्गतका २२ वटा टोल विकास संस्थामा क्रियाशील आमा समूह तथा युवा क्लबहरूसँग निरन्तर समन्वय गर्दै आएको छ।


उक्त अभिमुखीकरण कार्यक्रम खानेपानी सुरक्षा योजना समितिका संयोजक कमल थापाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष दीपक लम्साल, बर्दघाट नगरपालिकाका खानेपानी तथा स्वच्छता शाखा प्रमुख कृष्णहरि पौडेल, हरियालीनगर टोल विकास संस्थाका सचिव भीमबहादुर सारू, आमा समूहकी अध्यक्ष मनकुमारी गुरुङ लगायतका विशिष्ट व्यक्तिहरूले शुभकामना मन्तव्य राख्दै खानेपानी सुरक्षा योजनाका विभिन्न पक्षबारे जानकारी गराएका थिए।


 

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष लम्सालले बर्दघाट खानेपानीले वितरण गर्दै आएको पानीलाई अतिरिक्त रुपमा फिल्टर गर्न आवश्यक नरहेको बताउँदै शुद्ध तथा गुणस्तरीय पिउने पानी आपूर्ति गर्न संस्था पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। साथै उहाँले कुनै पनि समस्या देखा परेमा उपभोक्ताहरूले टोल फ्री नम्बर, फेसबुक पेज, मोबाइल एप वा सम्बन्धित जिम्मेवार व्यक्तिहरूसँग सम्पर्क गरी जानकारी गराउन विनम्र आग्रह गर्नुभयो।


“उपभोक्ताहरूको स्वस्थ जीवनका लागि शुद्ध पिउने पानीको प्रयोग, वातावरणमैत्री आचरण, पूर्ण सरसफाइ र आनीवानीमा सकारात्मक परिवर्तन अत्यावश्यक छ,” अध्यक्ष लम्सालले मन्तव्यमा बताउनुभयो।


कार्यक्रममा हरियालीनगर आमा समूहका ४५ जना महिला उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाका व्यवस्थापक विष्णुप्रसाद भुषालले खानेपानी सुरक्षा योजनाका विषयमा विस्तृत प्रस्तुति दिनुभएको जानकारी संस्थाका सचिव शोभाकान्त कोइरालाले दिनुभयो।


बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्ताहरूलाई २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउँदै आएको छ।