प्रेस स्वतन्त्रताविरोधी कुनै पनि कार्यमा प्रेस काउन्सिल सहमत नहुने

प्रकाशित मिति:

काठमाडौं, असार – प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चार माध्यमलाई आचारसंहिता पालना र प्रेस स्वतन्त्रता सदुपयोग गर्न अपील गरेको छ। आइतबार काउन्सिलमा सदस्य रामप्रसाद दाहालको अध्यक्षतमा बसेकोकाउन्सिलको बैठकले काउन्सिलले संविधानका प्रावधानविपरीत पत्रकार र सञ्चार माध्यमप्रति कहीँकतैबाट हुने प्रेस स्वतन्त्रताविरोधी कुनै पनि कार्यमा प्रेस काउन्सिल सहमत नहुने बैठकले निष्कर्ष निकालेको हो। बैठकमा पछिल्लो समय सञ्चारमाध्यम तथा पत्रकारमाथि भइरहेका हस्तक्षेप, स्वतन्त्रताको दुरुपयोग, अदालतसम्म पुगेका मुद्दा र आर्थिक संकटजस्ता विषयमा गम्भीर छलफल भएको थियो ।

बैठकले संविधानको मर्मविपरीत पत्रकार र सञ्चारमाध्यमप्रति हुने कुनै पनि हस्तक्षेपप्रति स्पष्ट असहमति जनाउँदै यस्ता कार्यप्रति काउन्सिल सहमत नहुने निर्णय गरेको छ । नयाँ कार्यकाललाई लक्षित गर्दै काउन्सिलले आगामी चार वर्षका लागि स्पष्ट कार्ययोजना निर्माण गरी कार्यान्वयनमा जाने निर्णयसमेत गरेको छ ।साथै, पत्रकार आचारसंहिता, सञ्चार निर्देशिकालगायतका कार्यविधिहरू आवश्यकतानुसार संशोधन गर्दै लैजाने र युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत भइरहेको पत्रकारितालाई थप व्यवस्थित गर्ने तयारी गरिएको छ । काउन्सिल ऐनको दफा ९ बमोजिम गठन गरिएका उपसमितिमा सदस्यहरूको जिम्मेवारी तोकिएको छ भने उपसमितिको पुनर्गठन अध्ययन गर्न गठित हरिप्रसाद जोशी संयोजकत्वको टोलीको प्रतिवेदनलाई आगामी बैठकमा छलफल गरिने निर्णय गरिएको छ ।त्यस्तै, प्रेस काउन्सिल पत्रकारिता पुरस्कार कार्यविधि, २०८१ अनुसार सिफारिस उपसमिति गठन गर्ने निर्णय भएको छ । बैठकले काउन्सिलमा कार्यरत करार कर्मचारीका विषयमा थप अध्ययन गरी अर्को बैठकमा छलफल गर्ने तयारीसमेत गरेको छ । बैठकमा सदस्यहरू निमा काफ्ले, केशवशरण लामिछाने, नकुल अर्याल, पदमराज जोशी, बालकृष्ण अधिकारी, विजयराज अधिकारी, शन्तराम बिडारी र सदस्य सचिव मिनकुमार शर्माको उपस्थिति रहेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मनोनयन भएका नयाँ सदस्यहरूको सहभागितामा सम्पन्न यो बैठक प्रेस काउन्सिल नेपालको कार्यशैली रूपान्तरण गर्ने दिशातर्फको पहलका रूपमा हेरिएको छ ।