स्याङ्जा सहयोग समाज पोर्चुगलद्वारा भव्य तीज कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

लिस्बन । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर स्याङ्जा सहयोग समाज पोर्चुगलले भव्यताका साथ तीज कार्यक्रम सम्पन्न गरेको छ।

समाजले आईतवार राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरि दर खाने तथा तीज कार्यक्रम सम्पन्न गरेको हो। सो अवसरमा शुभकामना आदान–प्रदान, सामूहिक नाचगान गर्दै उल्लासपूर्ण वातावरणमा तीज मनाइएको थियो। कार्यक्रममा सहभागी चेलीहरुलाई सामूहिक रुपमा दर खुवाइएको थियोे । यस्तै गायिका कला पंगेनीले आफ्नो सांगीतिक प्रस्तुति मार्फत सहभागीलाई भरपूर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

सो अवसरमा स्याङ्जा जिल्लामा जन्मनुभई हाल लिस्बनस्थित नेपाली दूतावासमा कार्यरत द्वितीय सचिव रामबाबु नेपाललाई स्वागत तथा सम्मान गरिएको थियो। समाजका अध्यक्ष विपिन अर्यालको अध्यक्षता, नेपाली दूतावासका द्वितीय सचिव नेपालको प्रमुख आतिथ्यता, उपाध्यक्ष क्षितिज गौचनको स्वागत र महासचिव ऋषि सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे।

कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने स्याङ्जाबासीहरूको उल्लेख्य सहभागिता रहेको समाजले जनाएको छ।