प्रकाश न्यौपाने
कार्तिक २९ गते
नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ३३औँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य बिक्रम खनालले विश्व आर्थिक मन्दीको असर नेपालमै देखिन थालेको बताउनुभयो। देश आर्थिक जटिलताका बीच अघि बढिरहेको समयमा शहरी क्षेत्रका केही सहकारीमा आर्थिक अपचलन देखिनु चिन्ताजनक भएको उल्लेख गर्दै आर्थिक संस्थामा पारदर्शिता र जवाफदेहिताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।
उहाँका अनुसार व्यवसाय प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नयाँ लगानी थपिन सकेको छैन, जसका कारण बजारमा तरलता वृद्धि भएको छ। नयाँ लगानी प्रवाह हुन नसक्ने र पुराना ऋणी सदस्यबाट ब्याजसमेत नआएका कारण सहकारी संस्थाहरू चुनौतीपूर्ण अवस्थाबाट अघि बढ्न बाध्य भएको बताउनुभयो। उत्पादनमा वृद्धि नगरेसम्म आर्थिक चलायमानता कायम नहुने उल्लेख गर्दै, खनालले सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउँदै उत्पादन प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूमा विशेष समस्या नरहेको बताउनुभयो। केही ठूला तथा संघीय कार्यक्षेत्र भएका सहकारीहरूमा समस्या देखिनु दुखद रहेको उल्लेख गर्दै, नाम चलेका व्यक्तिहरूको नाम नै सहकारी रकम अपचलनसँग जोडिनु थप चिन्ताजनक भएको उहाँले बताउनुभयो।
अहिलेको तीनखम्बे अर्थतन्त्रमा सहकारी क्षेत्र चलायमान रहेको उल्लेख गर्दै श्रेष्ठले भने, “अहिले सरकारी र निजी क्षेत्र दुवै गतिशील हुन सकेका छैनन्। यी दुई क्षेत्रभन्दा नागरिकको पैसा बचतका रूपमा संकलन गर्ने सहकारीहरूले नै अहिलेको बजार चलायमान बनाइरहेका छन्।”
पूर्व अध्यक्ष बालकृष्ण लम्सालले संस्थाको पारदर्शिता, पेपरलेस कारोबार प्रणाली, एपमार्फत प्रदान गरिने सेवा लगायतका आधुनिक कार्यप्रणालीले सहकारीलाई विशेष बनाएको बताउनुभयो।
सभामा अध्यक्ष कुलदिप आचार्यले पूर्ण सदस्यता वडा–घोषणा, त्रैमासिक आधारदर अनुसार ब्याज समायोजन, सामाजिक उत्तरदायित्वमुखी कार्यक्रम विस्तार तथा ‘तीन दशक’ नामक परिचय पुस्तिका प्रकाशन गर्ने योजना सार्वजनिक गर्नुभयो। शेयर सदस्यहरूले उठाएको सवालको जवाफ दिँदै मानव संसाधन क्षमतावृद्धिका लागि तालिम प्रदान गर्ने तथा सदस्यहरूको पेशा–व्यवसाय प्रवर्द्धन गर्दै अघि बढ्ने योजना रहेको बताउनुभयो।
कार्यक्रमका सञ्चालक तथा सचिव चेत नारायण भण्डारीले संस्थाको प्रगतिबारे प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा १३ वटा बैठक बसेको जानकारी दिनुभयो। उहाँले संस्थाका सबल पक्ष, सुधार आवश्यक पक्ष, अवसर र चुनौतीको उल्लेख गर्दै सदस्यता, शेयर, बचत, कर्जा लगानी तथा कारोबार विस्तार गर्ने लक्ष्य प्रतिवेदनमार्फत प्रस्तुत गर्नुभयो।
कोषाध्यक्ष बामदेव अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा २ सय ३४ नयाँ सदस्य थपिएर कुल शेयर सदस्य संख्या ९ हजार ३२ पुगेको जानकारी दिनुभयो। उनका अनुसार संस्थाको कुल शेयर पुँजी ५ करोड ७५ लाख ७२ हजार ७ सय, कुल लगानी ५३ करोड ८५ लाख ९५ हजार २ सय ४२, कुल बचत ६१ करोड ९४ लाख ७१ हजार ३ सय ३५, जगेडा कोष ५ करोड ४४ लाख ७० हजार ६ सय २४, भवन तथा स्थिर सम्पत्ति ३ करोड २४ लाख ४ हजार ५० र कुल सम्पत्ति ७५ करोड ४२ लाख ४९ हजार ३ सय १५ पुगेको छ। चालु वर्षको ८८ करोड पुग्ने अनुमानित वासलात पेस गर्नु भएको छ ।
सभामा लेखा सुपरिवेक्षण समिति संयोजक विनोद खनालले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। सोही अवसरमा बासबसही सेवा केन्द्रबाट सञ्चालकमा निर्वाचित तुलसा देवी ढकाल तथा लेखा सुपरिवेक्षण समिति सदस्य बिजयी गीरीलाई निर्वाचन समिति संयोजक बद्री प्रसाद सुवेदीले सपथ ग्रहण गराउनुभयो।

व्यवस्थापक यमलाल खरेलका अनुसार सहकारीले कार्तिक २२ गते बासबसही, २३ गते भटौलिया, २४ गते गोपिगञ्ज, २५ गते बर्दघाट सेवा केन्द्र तथा २६ गते बर्दघाट–८, ९, १०, ११ सहित मनरी–पिपरा अवस्थित केन्द्रीय कार्यालयमा र ४ वटा सेवा केन्द्र र मुख्य कार्यालयका प्रतिनिधिहरु बीच २९ गते प्रतिनिधिमुलक साधारण सभा सम्पन्न गरेको छ।
कार्यक्रममा उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट ज्येष्ठ नागरिक बचतकर्ता, फरक क्षमता भएका बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कर्मचारी भगवती पुरी तथा प्लस–टु तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद तथा सम्मानपत्र प्रदान गरिएको छ। साथै १९ जना नवजात शिशुहरूलाई पनि संस्थामा स्वागत गरिएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष कुलदिप आचार्यको अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत मन्तव्य र सचिव चेत नारायण भण्डारीको सञ्चालनमा सम्पन्न भयो।










