प्रकाश न्यौपाने
मंसिर ११ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट–४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल घटाएको छ । न्यूनतम महसुल १ सय रुपैयाँ रहेकोमा २० रुपैयाँ घटाएर मासिक ८० रुपैयाँ कायम गर्ने संस्थाका अध्यक्ष दीपक लम्सालले जानकारी दिनुभयो।
अध्यक्ष लम्सालका अनुसार अहिलेसम्म न्यूनतम १० हजार लिटर (१० युनिट) पानी खपत गर्ने उपभोक्ताबाट १ सय रुपैयाँ लिइँदै आएकोमा अब ८ हजार लिटर (८ युनिट) पानी खपत गर्ने उपभोक्तालाई न्यूनतम महसुल ८० रुपैयाँ तोकिएको हो। जग्गा धनी प्रमाण पत्र नभएका उपभोक्तालाई अस्थायी धारा जडान गर्दा धरौटी स्वरुप लिने गरेको १ हजार रुपैयाँ आगामी दिनमा धरौटी बापतको रकम नलिने लम्सालले जानकारी दिनु भयो ।
संस्थाका व्यवस्थापक विष्णु भुसालका अनुसार ९ युनिटसम्मको शुल्क ९० रुपैयाँ, १० युनिटको १ सय रुपैयाँ ११ देखी ३० युनिटको १३ रुपैयाँ प्रतियुनिट, ३१ देखी ५० युनिटसम्मको प्रतियुनिट १८, ५१ देखी १ सय युनिटसम्मको प्रतियुनिट २२ र १ सय युनिट भन्दा माथि पानी खपत गर्ने उपभोक्तालाई प्रति युनिट २७ रुपैयाँ लिइँदै आएकोमा अब २ रुपैयाँ घटाएर २५ रुपैयाँ प्रतियुनिट लागू गरिएको छ। संस्थाले घटाएको नयाँ महसुल दर पुस १ गतेदेखि लागू हुने भुषालले बताउनु भयो। महसुल घटाएकै कारण संस्थाको वार्षिक आम्दानीमा करिब २ लाख ५० हजार रुपैयाँ कमी हुनेछ भनी व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो।
महसुल घटाउँदा पानीको कम खपत गर्ने उपभोक्तालाई प्रोत्साहन हुने संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना टोलिका संयोजक कमल थापाले बताउनुभयो। हाल संस्थामा ४ हजार २ सय २५ उपभोक्ता रहेका छन्। महसुल घटाउँदा करिब २२ प्रतिशत उपभोक्तालाई यस निर्णयबाट सहुलियत हुने संस्थाका उपाध्यक्ष थापाले जानकारी दिनुभयो। उहाँका अनुसार करिब ९ सय ५० उपभोक्ताले न्यूनतम महसुल बुझाउँदै आएका छन्।












