बर्दघाट–९ भुताहामा कैलाशकुट शिव मन्दिरको शिलान्यास, महाशिवरात्रि श्रद्धा र भक्तिभावसहित मनाइयो

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
फागुन ३ गते
नवलपरासी – बर्दघाट नगरपालिका–९ भुताहास्थित श्री कैलाशकुट शिव मन्दिरको शिलान्यास महाशिवरात्रिको पावन अवसरमा विधिपूर्वक सम्पन्न गरिएको छ। लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले वैदिक मन्त्र उच्चारणका बीच नयाँ मन्दिर निर्माणको शिलान्यास गर्नुभएको हो।


कार्यक्रमलाई सम्बोधन गर्दै पाठकले धर्मले सहि कर्ममा लाग्न प्रेरित गर्ने बताउनु भयो । ” धर्मका माध्यमबाट एउटा ब्यक्ति सत कर्ममा लाग्न र समाजलाई असल मार्गमा डोर्‍याउन सहयोग गर्छ ।” पाठकले भन्नू भयो ।


शिलान्यासअघि वैदिक ब्राह्मणद्वारा गणेशपूजन, भूमिपूजन, नवग्रह शान्ति तथा रुद्रपाठ गरिएको थियो। शुभ साइतमा कलश स्थापना गरी मन्त्रोच्चारणसहित शिला राखिएको थियो। धार्मिक परम्पराअनुसार भूमि शुद्धिकरण र क्षमायाचनासमेत गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।


महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा बाजागाजासहित अखण्ड भजन–कीर्तन आयोजना गरिएको थियो। भगवान शिवको स्तुति, शिवताण्डव स्तोत्र, रुद्राष्टकम्, महामृत्युन्जय मन्त्रजप तथा ‘ॐ नमः शिवाय’ धुनले रातभरि वातावरण भक्तिमय बनेको थियो। रातभर सञ्चालन गरिएको कार्यक्रममा स्थानीय भक्तजन, आमा–समूह, युवासमूह तथा विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


उक्त अवसरमा विशेष शिवपूजन, बेलपत्र, धतुरो, आकको फूल अर्पण, दीप प्रज्वलन तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो। उहाँका अनुसार शिवलिङ्गमा जल, दूध, दही, घिउ, मह र चन्दनले अभिषेक गरिएको थियो।


समितिका अनुसार गत वर्ष मन्दिर निर्माणका लागि महायज्ञ आयोजना गरिएको थियो। यस वर्ष शिलान्याससँगै मन्दिर निर्माण कार्यलाई औपचारिक रूपमा अघि बढाइएको छ। “हामी केही वर्षभित्रै भव्य र आकर्षक मन्दिर निर्माण गर्ने लक्ष्यसहित तयारीमा जुटेका छौँ,” अध्यक्ष खनालले बताउनुभयो।


महाशिवरात्रिको रात अखण्ड भजन–कीर्तन गरी बिहानसम्म कार्यक्रम सञ्चालन गरिएको र आज बिहान फूलपाती सेलाउनका लागि त्रिवेणी धाम प्रस्थान गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ। त्रिवेणीमा स्नान, पूजा तथा शिव आराधनापछि प्रसाद वितरण गरिने जनाइएको छ।


सम्पूर्ण कार्यक्रम शान्त, सुव्यवस्थित तथा श्रद्धामय वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। मन्दिर निर्माणसँगै यस क्षेत्रको धार्मिक चेतना अभिवृद्धि हुनुका साथै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

थप समाचार