प्रजातन्त्र दिवस – फागुन ७ को सन्दर्भमा

प्रकाशित मिति:

फागुन ७ नेपाली इतिहासको गौरवपूर्ण दिन हो। यही दिन २००७ सालमा १०४ वर्षे राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको थियो। यो केवल शासन परिवर्तनको मिति मात्र होइन, जनताको अधिकार, स्वतन्त्रता र आत्मसम्मानको उद्घोष गरिएको ऐतिहासिक क्षण हो। प्रजातन्त्र दिवसले हामीलाई सम्झाउँछ—सत्ता स्थायी हुँदैन, तर जनताको आकांक्षा र बलिदान अमर हुन्छ। भाद्र २३ र २४ गतेका ती पीडादायी घटनाहरू हाम्रो सामूहिक स्मृतिमा अझै ताजा छन्। सिंहदरबार र संघीय संसद भवन अगाडि स्कुलको झोला बोकेका निर्दोष विद्यार्थीहरू मारिएका खबरहरूले हरेक नेपालीको मन झस्किएको थियो। ती परिवारहरूको पीडा केवल समाचारको शीर्षक होइन—आज पनि धड्किरहेको यथार्थ हो। त्यही पीडाले हामीलाई सम्झाउँछ—प्रजातन्त्र केवल व्यवस्था होइन, जिम्मेवारी पनि हो। कुनै पनि प्रजातान्त्रिक मुलुकमा शासक तानाशाह वा सन्की हुनु देशकै दुर्भाग्य हो। सत्ता जनताको विश्वासबाट आउँछ, डर र दमनबाट होइन। राज्य शक्ति र सत्ता क्षणिक हुन्; आज छन्, भोलि नहुन सक्छन्। तर सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण अपरिहार्य आवश्यकता हुन्। सुशासन बिना प्रजातन्त्र खोक्रो हुन्छ, र भ्रष्टाचारले लोकतन्त्रको जरा कमजोर बनाउँछ। त्यसैले परिवर्तन केवल नारामा होइन, व्यवहारमा देखिनुपर्छ।
हामी परिवर्तनको सघारमा छौँ। हरेक नागरिकको मनभित्र प्रजातान्त्रिक सोच र राष्ट्रप्रेम अपरिहार्य छ। आन्दोलन हिजो पनि भए, भोलि पनि हुनेछन्। इतिहासले देखाएको छ—जब जनताको आवाज दबिन्छ, आन्दोलन जन्मिन्छ। तर आन्दोलनको नाममा नरसंहार, देश जलाउने, कार्यकारी प्रशासनिक भवनमा आगजनी गर्ने वा केही व्यक्तिको समूहले राज्य आफूखुशी कब्जा गर्ने प्रवृत्ति लोकतन्त्रको आत्मा विपरीत हो। विरोध अधिकार हो, तर हिंसा समाधान होइन।

जनताले आफू सुरक्षित महसुस नगरे त्यो देशमा बस्न चाहँदैन। सुरक्षा, न्याय र समान अवसर प्रत्येक नागरिकको आधारभूत अपेक्षा हो। लोकतन्त्रको असली सौन्दर्य यही हो—विचार फरक भए पनि सहिष्णुता कायम रहोस्, प्रतिस्पर्धा भए पनि द्वेष नहोस्।
अब २१ गते हुन गइरहेको चुनाव हाम्रो लोकतान्त्रिक यात्राको अर्को महत्वपूर्ण चरण हो। चुनाव केवल उम्मेदवार चयन गर्ने प्रक्रिया मात्र होइन; यो जनताको विश्वास नवीकरण गर्ने अवसर हो। मतपत्रको शक्ति बन्दुकभन्दा ठूलो हुन्छ भन्ने सत्य फेरि एकपटक स्थापित हुनुपर्छ। रक्तपात, हिंसा वा द्वेषबिना, आपसी सम्मान र सहिष्णुतासहित सम्पन्न चुनावले नै लोकतन्त्र बलियो बनाउँछ।
हामीले बुझ्नुपर्छ—प्रजातन्त्र कागजमा लेखिएको संविधानले मात्र जोगिँदैन, जनताको चेतना र सहभागिताले जोगिन्छ। नागरिक सचेत भए सत्ता जवाफदेही बन्छ। नागरिक मौन भए दुरुपयोग बढ्छ। त्यसैले आलोचना पनि गरौँ, तर जिम्मेवार ढंगले; समर्थन पनि गरौँ, तर विवेकपूर्ण रूपमा।फागुन ७ ले हामीलाई सम्झाउँछ—अधिकार सजिलै पाइँदैन, तर पाएको अधिकारको रक्षा गर्न सदैव सजग रहनुपर्छ। राज्य शक्ति क्षणिक भए पनि सुशासन र इमान्दार नेतृत्व दीर्घकालीन मूल्य हुन्। हिंसा होइन, संवाद; दमन होइन, सहभागिता; विभाजन होइन, एकता—यिनै लोकतन्त्रका आधारस्तम्भ हुन्।
पशुपतिनाथसँग मेरो यही प्रार्थना छ—
नेपालमा शान्ति, सद्भाव र स्थिरता रहोस्।
जनताको मतको सम्मान होस्।
भ्रष्टाचार नियन्त्रण र उन्मूलनमा दृढ प्रतिबद्धता देखियोस्।
र प्रजातन्त्र साँचो अर्थमा जनताको घर–घरमा फुलोस्।
फागुन ७, प्रजातन्त्र दिवसको हार्दिक शुभकामना। 🇳🇵🌹
– प्रतीक गैह्रे

थप समाचार