पश्चिम नवलपरासीमा पार्टी परित्याग र प्रवेश तीव्रता

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन ११ गते
नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पश्चिम नवलपरासीमा दल परित्याग र पार्टी प्रवेशको क्रम तीव्र बनेको छ। निर्वाचनको सरगर्मी बढेसँगै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एक दलबाट अर्को दलमा आवद्ध हुने लहर देखिएको हो।


जिल्लामा पछिल्लो दिनका घटनाक्रम हेर्दा नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेमा पार्टी प्रवेश र परित्यागका घटना धेरै भएका छन ।नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवार बनेपछि कांग्रेसभित्र असन्तुष्टि बढेको स्रोतले जनाएको छ। त्यस्तै काङ्ग्रेसकै जिल्ला सदस्य नरेन्द्र गुप्ता क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवार बनेका छन्।


जिल्लाको दुबै निर्वाचन क्षेत्रमा पुर्व काङ्ग्रेसी नेताहरु उम्मेदवार बनेपछी काङ्ग्रेस र रास्वपामा तिब्र असन्तुष्टी देखिएको छ ।नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका जिल्ला सदस्य धुव्र जमर कट्टेल, संजय कुर्मी, क्षेत्र नम्बर १ का सचिव बालिन्द्र विक्रम शाही, बर्दघाट नगर सभापति दामोदर जीसी, बर्दघाट–४ की वडा अध्यक्ष डिलकुमारी कुँवरलगायतले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।


उता रास्वपाभित्र पनि असन्तुष्टि चुलिएको छ। सुस्ता गाउँपालिका उपसभापति गुप्त सेन ठकुरीले पार्टीको भनाइ र गराइबीच एकरुपता नभएको आरोप लगाउँदै पार्टी परित्याग गरी स्वतन्त्र नागरिकका रूपमा रहने घोषणा गरेका छन्। उनी रास्वपाका जिल्ला सभापति महेन्द्र सेन ठकुरीका दाइ हुन्। खनाल र गुप्ता उम्मेदवार बनेपछि पार्टीभित्र असन्तुष्ट समूह सक्रिय बनेको बताइएको छ। रास्वपाका बर्दघाट–१३ का सभापति जितबहादुर हरिजनले राजीनामा दिए पनि एक दिनपछि निर्णय फिर्ता लिएका छन्।


चुनावी प्रतिस्पर्धा तातिँदै जाँदा दलहरूले प्रवेश कार्यक्रमलाई समेत तीव्रता दिएका छन्। कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति मुकुल आचार्यका अनुसार हालसम्म करिब ३६० जना कांग्रेसमा प्रवेश गरेका छन्। रास्वपाका जिल्ला सचिव रवि पाण्डेले दैनिक रूपमा ठूलो संख्यामा कार्यकर्ता पार्टीमा प्रवेश गरिरहेको दाबी गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले पनि एमालेमा नयाँ प्रवेशीहरूलाई स्वागत गरिएको बताएका छन्।


निर्वाचन नजिकिँदै जाँदा पश्चिम नवलपरासीमा राजनीतिक ध्रुवीकरण झन् तीव्र बन्दै गएको छ। भने राजनीतिक दल र उम्मेदवारहरुले चुनाव प्रचारप्रसारसमेत तीब्र बनाएका छन ।