स्याङ्जा एमाले मतदातामा भ्रम छर्दै,भ्रममा नपर्न र चनाखो हुन कांग्रेस उमेदवार ढकालको आग्रह
प्रकाश डोटेल/स्याङ्जा : फागुन २१ मा हुन लागेको निर्वाचनमा मतदातालाई भ्रममा पार्ने गरी नेकपा एमाले स्याङ्जाले सामाजिक सञ्जालको दुरुपयोग गरेको छ । निर्वाचनको मौन अवधि शुरु भएपछि नेकपा एमाले स्याङ्जाले भ्रम सृजना गर्न सामाजिक सञ्जालको दुरुपयोग गरेको हो ।
१८ गते राति १२ बजेपछि शुरु भएको मौन अवधिमा ‘नेकपा एमाले स्याङ्जा क्षेत्र नं.–१ जिताउ अभियान’ मार्फत भ्रम सृजना गर्न खोजिएको छ । उक्त पेजमा ‘नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले मिनप्रसाद गुरुङ्लाई सहयोग गर्ने भनि व्यक्त गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं । साथै सम्पूर्ण स्याङ्जाबासी दाजुभाइ तथा दिदीबहिनिहरुलाई यसपटक प्रत्यक्षतर्फ सूर्यमा र समानुपातिकतर्फ रुखमा मतदान गर्न अनुरोध गर्नु भएकोमा विशेष धन्यवाद’ लेखिएको छ ।
निर्वाचन जस्तो पवित्र र गम्भिर विषयमा नेकपा एमाले स्याङ्जाका नाममा भएको सामाजिक सञ्जाल दुरुपयोगलाई नेपाली काँग्रेस स्याङ्जाले अक्षम्य अपराध गरेको जनाएको छ । खुल्ला र लोकतान्त्रिक प्रक्रियाबाट आफ्ना अभिमत राख्दै मतदाताको मन जितेर मत पाउने विधिलाई एमाले स्याङ्जाले तिलाञ्जली दिएको काँग्रेसको निष्कर्ष छ ।
‘नेकपा एमाले स्याङ्जाको नाममा गरिएको सामाजिक सञ्जाल दुरुपयोगप्रति घोरभत्र्सना गछौं ।’ काँग्रेस स्याङ्जाका सभापति राजु थापाले भने, ‘काँग्रेसले लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्दै खुल्ला प्रतिस्पर्धामा उत्रिएको बेला यस्ता हर्कतले मतदातामा भ्रम सृजना गर्न खोजिएको छ ।’ मतदाताप्रति विश्वास गर्न नसक्ने एमाले स्याङ्जाको गतिविधि हारको मानसिकताबाट ग्रसित भएको सभापति थापाले बताए ।
नेकपा एमाले स्याङ्जा क्षेत्र नं. १ जिताउ अभियान पेजबाट मतदातालाई भ्रम छर्ने काम भएपछि नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेदवार भरतराज ढकालको सचिवालयले आचारसंहिता अनुगमन जिल्लास्थित कार्यालयमा उजुरी दर्ता गराएको छ । उजुरी प्राप्त भएको र उजुरीउपर अनुसन्धान थालिएको अनुगमन अधिकृत तथा स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुबेदीले जानकारी दिए ।
सामाजिक सञ्जाल फेशबुक पेजबाट भएको भ्रम छर्ने कामलाई नेपाली काँग्रेस स्याङ्जाका उम्मेदवार भरतराज ढकालले घृणित कार्यको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल दुरुपयोगलाई ध्यान नदिएर प्रत्यक्ष र समानुपातिक दुबैतर्फ काँग्रेसको रुख चिन्हमा मतदान गर्न स्याङ्जा क्षेत्र नं.–१ का सबै मतदातालाई उम्मेदवार ढकालले आग्रह गरेका छन् ।
उता नेकपा एमालेका उम्मेदवार मिनप्रसाद गुरुङ्ले सामाजिक सञ्जाल दुरुपयोगका बारेमा आफू जानकार नरहेको बताए । म घरतिरै छु, धेरै दिनको चुनावी प्रचार कार्यक्रमले थकान भएको छ, फेशबुकमा के आयो भन्ने बारेमा केहि जानकारी नभएको गुरुङ्ले बताए ।
नेकपा एमाले स्याङ्जाका नाममा सामाजिक सञ्जालबाट भएको अलोकतान्त्रिक गतिविधिलाई जिल्लास्थित राजनीतिककर्मीहरुले मतदातालाई भ्र्रमित पार्ने काम बन्द गर्न सुझाएका छन् । उनीहरुले मतदाताको मन जितेर मत प्राप्त गरिने भएकाले भ्रमको खेती गर्न नहुने बताए












