चापाकोट–८ मा निःशुल्क स्वास्थ्य शिविर, १९१ जना लाभान्वित विदेशी चिकित्सकको परामर्श, भिडियो एक्स–रे र इसिजी सेवा उपलब्ध

प्रकाशित मिति:

गोपिकृष्ण रेग्मी- स्याङ्जा — चापाकोट नगरपालिका वडा नं. ८ स्थित बेलडाँडा आधारभूत स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १९१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। २५ गते बाट सुरु भएको शिविर चैत्र १३ गते सम्म सन्चालन हुनेछ। वडा नं. ८ र निम संस्थाको संयुक्त आयोजनामा भएको
शिविरमा विदेशी चिकित्सकबाट स्वास्थ्य परामर्श, भिडियो एक्स–रे, इसिजी परीक्षण, नियमित औषधि वितरण लगायतका सेवा उपलब्ध गराइएको छ। गाउँमै विशेषज्ञ सेवा पाउँदा सेवाग्राहीहरू खुशी देखिएका थिए।
वडा अध्यक्ष टोपलाल न्यौपाने (राजु) ले ग्रामीण क्षेत्रका धेरै नागरिकसँग उपचारका लागि पर्याप्त आर्थिक अवस्था नहुने भएकाले यस्ता शिविरले ठूलो राहत मिल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँघरका धेरै नागरिक बिरामी हुँदा पनि अस्पताल पुग्न कठिन हुन्छ। स्थानीयलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु हाम्रो दायित्व हो, त्यसैले निम संस्थासँग सहकार्य गरेर शिविर सञ्चालन गरेका हौँ।”
शिविरबाट सेवा लिइरहेका मुक्ती श्रेष्ठले गाउँमै स्वास्थ्य सेवा पाउँदा उपचारमा सहजता आएको बताउनुभयो। “मैले धेरै पटक शिविरमा चेकजाँच गराएँ, अहिले स्वास्थ्यमा सुधार भएको छ। गाउँमै सेवा पाउँदा खर्च पनि बचत भयो,” उहाँले भन्नुभयो।
स्थानीय कमला बरालले महिलाहरूले धेरैजसो स्वास्थ्य समस्या लुकाउने गर्दा पाठेघरसम्बन्धी समस्या बढ्ने गरेको बताउँदै नियमित शिविरमार्फत निःशुल्क शल्यक्रिया समेत हुने जानकारी पाएपछि आफूले शिविरबाट सेवा लिएको बताउनुभयो।
निम संस्थाका अध्यक्ष शंकर गैह्रेका अनुसार ग्रामीण भेगका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। संस्थाले यसअघि पनि विभिन्न स्थानमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ।