वालिङमा पहिलो पटक ‘फर्स्ट एक्स्पो’ आयोजना हुने

प्रकाशित मिति:

स्याङ्जा । स्याङ्जाको वालिङमा नयाँ वर्ष २०८३ को अवसर पारेर पहिलो पटक ‘फर्स्ट एक्स्पो’ आयोजना हुने भएको छ । ओमकार इभेन्ट हब वालिङको आयोजनामा चैत २६ गते देखि वैशाख २ गतेसम्म वालिङ खेलमैदानमा एक्स्पो सञ्चालन गरिने तय भएको छ ।ओमकार इभेन्ट हब वालिङका अध्यक्ष विजय मल्लका अनुसार एक्स्पो मार्फत वालिङ क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्नुका साथै यहाँ रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरूको पहिचानलाई थप व्यापक बनाउने उद्देश्य राखिएको छ । नयाँ वर्षलाई उत्सवमय बनाउँदै स्थानीय स्तरमै मनोरञ्जन र आर्थिक गतिविधि बढाउने विश्वास समेत गरिएको छ ।

एक्स्पोमा स्थानीय उत्पादन, मौलिक खानाका परिकार, कृषि उपज तथा विभिन्न व्यापारिक सामग्रीको प्रदर्शनी गरिनेछ । विशेष गरी अदुवा, कफी र ताजा तरकारीसँगै सूचना प्रविधि, शैक्षिक सामग्री, अटो मोबाइल, हस्तकला र पर्यटन सम्बन्धी स्टलहरू रहने जनाइएको छ ।कार्यक्रम अवधि भर दोहोरी गीत, नृत्य, भजन तथा नौमती बाजा प्रतियोगिता आयोजना गरिनुका साथै टिकटक प्रतियोगिता र दैनिक साङ्गीतिक प्रस्तुति पनि समावेश गरिनेछ । यसैगरी चर्चित ब्यान्डहरूको लाइभ कन्सर्ट एक्स्पोको मुख्य आकर्षणका रूपमा रहनेछ ।

करिब ७३ लाख रुपैयाँको लागत अनुमान गरिएको एक्स्पोबाट खर्च कटाएर बचत हुने रकम वालिङ खेलमैदानको मर्मत तथा राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिकाको सहभागिताका लागि सहयोग गरिने योजना रहेको छ ।प्रवेश शुल्क तर्फ सामान्य दर्शकका लागि १०० रुपैयाँ, विद्यार्थीका लागि ७० रुपैयाँ र साँझको कन्सर्टका लागि ३०० रुपैयाँ निर्धारण गरिएको छ । दिउँसो १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ भने साँझ ७ देखि १० बजेसम्म लाइभ कन्सर्ट आयोजना गरिनेछ ।आयोजक संस्थाले यसअघि सेभेन ए साइड फुटबल प्रतियोगिता तथा वालिङ महोत्सव अन्तर्गत विभिन्न साङ्गीतिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिसकेको जनाएको छ ।