कपिलवस्तु । डिजिटल साक्षरता, साइबर सुरक्षा तथा कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यशाला लुम्बिनीमा सम्पन्न भएको छ। सिद्धार्थ सामाजिक विकास केन्द्रद्वारा आयोजित उक्त कार्यशालामा संस्थाका बोर्ड सदस्य तथा सिनियर कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा डिजिटल साक्षरताको सैद्धान्तिक तथा व्यावहारिक पक्ष, आवश्यक सावधानीका उपाय, साथै एआइको अवधारणा, उपयोगिता, फाइदा र सम्भावित जोखिमबारे जानकारी प्रदान गरिएको थियो। डिजिटल साक्षरता सम्बन्धी कार्यशाला गोरखापत्रका सह–सम्पादक अजय शर्माले आधुनिक प्रविधिसँग अद्यावधिक रहनु समयको आवश्यकता भएको बताउँदै प्रविधिको प्रभावकारी प्रयोगले समय र स्रोतको बचत हुने उल्लेख गर्नुभयो।

कार्यशालामा एआइका विभिन्न टुल्सको प्रयोगबारे सैद्धानीतक तथा प्रयोगत्मक रुपमा प्रशिक्षण गरिएको थियो। सहभागीहरूले डिजिटल साक्षरता आजको अपरिहार्य आवश्यकता भएको र यसले व्यक्तिगत तथा पेशागत कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।
संस्थाका अध्यक्ष तिलोचन घिमिरे र सचिव दुर्गा अर्यालले यस्ता तालिमले संस्थागत विकास र व्यावसायिक दक्षता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
एक्कसन एड नेपालको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यशालाबाट आफूहरूले नयाँ ज्ञान, सीप र प्रविधिमैत्री सोच विकास गर्न पाएको सहभागीहरूले बताएका छन्। स्थानीय अधिकार कार्यक्रम संयोजक अजय चौधरीले आगामी दिनमा सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा कार्यान्वयन गर्दै संस्थागत विकासमा योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।












