स्याङ्जा, चैत ८ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा स्याङ्जामा विविध सचेतना मूलक कार्यक्रम आयोजना गरी समानता र सामाजिक न्यायको सन्देश प्रवाह गरिएको छ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा भिरकोट नगरपालिका ९ सिर्कोटमा प्रभातफेरी सहित अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरूले “विभेद अन्त्य गरौं, समानता कायम गरौं” लगायतका नारा अंकित प्लेकार्ड प्रदर्शन गर्दै समाजमा व्याप्त जातीय विभेद विरुद्ध एकजुट हुन आह्वान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै भिरकोट नगरपालिका उपप्रमुख भगवती रेग्मी अर्यालले कुनै पनि प्रकारको विभेद अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले समानतामूलक समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।
एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले अझै पनि विभिन्न स्थानमा जातीय भेदभावका घटना देखिनु चिन्ताजनक भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सचेतनामूलक शिक्षा र कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राख्नुभयो । साथै पछाडि पारिएका समुदायको उत्थानका लागि सीपमूलक तथा उत्पादनमूलक कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
कार्यक्रममा आमासमूह, नागरिक समाज, विद्यार्थी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । साहित्य र सिर्जनामार्फत समानताको आवाज बुलन्द गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उत्कृष्ट गीत, कविता तथा नृत्य प्रस्तुत गर्ने सहभागीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
संयुक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा हरेक वर्ष मार्च २१ मा यो दिवस विश्वभर मनाउने गरिन्छ ।












