गौतमबुद्ध प्रेस क्लवको अध्यक्षमा नविन घिमिरे, पत्रकारिता समाजको दर्पण हुनपर्ने

प्रकाशित मिति:

कञ्चन- रुपन्देहीको सैनामैना, कञ्चन र गैडहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुको साझा संगठन गौतमबुद्ध प्रेस क्लवको अध्यक्षमा साझा टेलिभिजनका प्रवन्ध निर्देशक थानेश्वर घिमिरे नविन चयन हुनुभएको छ। सैनामैना स्थित वावरी पार्टी प्यालेस भएको क्लवको प्रथम साधारण सभा तथा प्रथम अधिबेशनबाट घिमिरे सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो। अधिबेशनले क्लवको उपाध्यक्षमा रेडियोे आवाजका सञ्चालक कृष्ण भण्डारी, महासिचवमा रेडियो सैनामैनाका महासचिव अनिल पहाडी, सचिवमा रेडियो टाइम्सका सञ्चालक नरेश चौधरी र कोषाध्यक्षमा उज्यालो पोष्टका सञ्चालक रमेश गैरे चयन हुनु भएको छ। यसैगरी सदस्यमा खवर परिवेशका अनिता चौधरी, रेडियो कञ्चनका गोविन्द आचार्य, प्रेम बहादुर बुढाथोकी चयन हुनभएको छ।

गौतमबुद्ध प्रेस क्लवका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले पत्रकारिताको अर्थ समाजलाई सहि सूचना दिएर समाजको स्वच्छ दर्पणको रुपमा कार्य गर्नु रहेको बताउनु भएको थियो। पत्रकारितालाई समाजलाई सुसूचित गरी सन्तुलित र सभ्य समाज निर्माणमा नेतृत्वदायी भूमिका बहन गराउनु आवस्यक रहेको नगरप्रमुख शर्माले जोड दिनु भएको थियो।
यस्तै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले असल र सभ्य पत्रकार तथा सञ्चारकर्मीहरुले हरेक बिषयलाई सन्तुलित रुपमा सञ्चार माध्यममार्फत प्रकाशन र प्रशारण गर्न सके पत्रकारहरु प्रति हेर्ने दृष्टिकोण समेत अझ विश्वसनीय र सकारात्मक बन्दै जाने बताउनु भएको थियो। स्थानीय क्षेत्रको कृषि, पर्यटन, शिक्षा, बिकास लगायत बिषयमा खोजमुलक समाचारहरु तयार गरेर स्थानीय क्षेत्रलाई मोफसलसंग जोड्नमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने अध्यक्ष ढकालले बताउनु भएको थियो।

यसैगरी सैनामैना नगरपालिकाका निवर्तमान नगरप्रमुख चित्र बहादुर कार्कीले आफुलाई पत्रकार भन्ने केही अराजक व्यक्तीहरुले समाजमा भ्रामक सूचना सम्प्रेषण गरेकै कारण सञ्चारमाध्यमहरुबाट प्रकाशित तथा प्रशारित समाचारहरु समेत अविश्वनीय बन्दै गइरहेको बताउनु भयो। गलत र साँचो छुट्याएर सत्य र तथ्यपूर्ण समाचारले समाज रुपान्तरणमा ठूलो योगदान दिने उल्लेख गर्दै निवर्तमान नगरप्रमुख कार्कीले पत्रकार तथा सञ्चारकर्मीहरुलाई पत्रकारिताको धर्म र निष्ठामा आधारित रहेर कलम चलाउन उत्प्रेरित गर्नमा गौतमबुद्ध प्रेस क्लव उद्धत हुने विश्वास व्यक्त गर्नु भएको थियो। सैनामैना नगरका निवर्तमान नगरप्रमुख कार्कीले पत्रकारिता क्षेत्र अझैपनि विभिन्न विचार र आस्थाबाट प्रभावित हुँदा निष्पक्ष पत्रकारिता हुन नसकेको बताउँदै कुनै मिसनका लागि गरिने पत्रकारिता घातक हुने भएकोले पत्रकारहरुले सधै सत्य र यथार्थमा आधारित पत्रकारिता गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा एन प्याब्सन रुपन्देहीका अध्यक्ष तिलव के।सी।ले सञ्चार र शिक्षा एक सिक्काका दुई पाटाको रुपमा हेर्न र बुझ्न आवस्यक रहेको बिचार व्यक्त गर्नु भएको थियो। यस्तै सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार र पत्रकारितालाई देशको समृद्धि र स्थानीय उत्पादनहरुको बजारिकरणमा उपयोग गर्न नसकिएकै कारण नेपालका सञ्चारगृह र पत्रकारिता क्षेत्र अझ कमजोर बन्दै गइरहेको उल्लेख गर्नु भएको थियो। कार्यक्रममा सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, प्याब्सन सैनामैनाका अध्यक्ष टोपलाल भट्टराई लगायतले क्लवका नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई बधाई सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। निर्वाचन समितिका संयोजक छविलाल पाण्डेले निर्वाचि कार्य समितिका पदाधिकरीहरुलाई सपथ गराउदै पछिल्लो समयम पत्रकारितामा देखिएको चुनौती र दक्ष जनशक्तीको अभावलाई पुरा गर्नमा क्लवले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो। यस्तै निर्वाचन समितिका सदस्य भुवन जिसीले सैनामैना, कञ्चन र गैडहवामा र्काक्षेत्र बनाएर पत्रकारिता गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुको सीप, क्षमता र दक्षता बृद्धि गरी यस क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागार गर्न उत्प्रेरित गराउनमा क्लव क्रियाशिल रहने बिचार व्यक्त व्यक्त गर्नु भएको थियो।

अधिबेशनले तदर्थ समितिका अध्यक्ष थानेश्वर घिमिरे नविनले प्रस्तुत गर्नु भएको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष नरेश चौधरीले प्रस्तुत गर्नु भएको प्रारम्भिक आय व्यय समेत अनुमोदन गरेको थियो। गौतमबुद्ध प्रेस क्लवका अध्यक्ष थानेश्वर घिमिरे नविनको अध्यक्षतामा भएको अधिवेशन उदघाटन समारोहमा उपाध्यक्ष कृष्ण भण्डारीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिव अनिल पहाडीले गर्नुभएको थियो । गौतमबुद्ध प्रेस क्लवमा ५ वटा रेडियो, १ टेलिभिजन, १ पत्रिका र विभिन्न अनलाइन सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकार तथा सञ्चाकर्मीहरु आवद्ध रहेका छन। अधिबेशनको बन्दसत्रको सञ्चालन भने निर्वाचन समितिका सदस्य जगीलाल थापाले गर्नु भएको थियो।