सुरेश छन्त्याल-बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे लेक पछिल्लो समय थप चर्चामा आउन थालेको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक पहिचानको संगमस्थलका रूपमा रहेको यस क्षेत्रले स्थानीय तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्दै आएको छ।समुन्द्री सतहदेखि उच्च भू–भागमा अवस्थित घुम्टे लेकबाट धौलागिरी, अन्नपूर्ण लगायतका हिमश्रृंखलाको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ। यहाँको शान्त वातावरण, हरियाली वनजंगल र मनमोहक सूर्योदय–सूर्यास्तले पर्यटकलाई लोभ्याउने गरेको छ। यसले घुम्टेलाई पश्चिम नेपालकै सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार पारेको छ।धार्मिक दृष्टिले पनि घुम्टे लेक महत्वपूर्ण मानिन्छ। यहाँ रहेको सिद्धबाबा मन्दिरमा वैशाखे पूर्णिमाको अवसरमा हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ। सोही अवसरमा आयोजना हुने बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमा मेलाले धार्मिक आस्था मात्र नभई स्थानीय कला–संस्कृतिको संरक्षणमा समेत टेवा पुर्याएको छ। मेलामा सती घाटु, सोरठी, सालैजो, यानिमाया लगायतका लोक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिँदै आएका छन्।
स्थानीय स्तरमा सक्रिय सामाजिक संस्थाहरूले सरसफाइ अभियान, मेला व्यवस्थापन र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै घुम्टे क्षेत्रको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। यस्ता गतिविधिले समुदायमा एकता र सहकार्यको भावना समेत विकास गरेको छ।यद्यपि, घुम्टे लेकको पूर्ण सम्भावना उपयोग गर्न अझै चुनौतीहरू रहेका छन्। पहुँचमार्गको सुधार, पर्यटकमैत्री पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन तथा प्रभावकारी प्रचार–प्रसार आवश्यक देखिन्छ। सरोकारवाला निकाय र स्थानीय समुदायको सहकार्यमा यी पक्षहरूमा ध्यान दिन सके घुम्टे लेकलाई दिगो पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ।समग्रमा, घुम्टे लेक प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल भएकाले यसको संरक्षण र व्यवस्थित विकास आजको आवश्यकता बनेको छ।












