युवा स्रष्टा मिलन समीरको ‘आँधीखोला’ माथि साहित्यिक बहस

प्रकाशित मिति:

चैत। युवा कवि मिलन समीरद्वारा रचित नवीनतम निर्बन्ध–काव्य कृति “म अर्थात् आँधीखोला उकालोमै बगिरहेको छु” माथि केन्द्रित विमर्श कार्यक्रम गरिएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको ७ औँ वर्षोत्सवको अवसरमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा कार्यक्रम गरिएको हो । यो अभियानको ४०औँ शृङ्खला पनि हो । स्याङ्जाली साहित्यको इतिहासमै एउटै कृति माथि केन्द्रित यस्तो विमर्श कार्यक्रम पहिलोपटक आयोजना गरिएको बताइएको छ । वालिङ–६, मिर्दी स्थित नेचुरल भ्यू पोइन्ट रेष्टुरेन्टको पुस्तकालय कक्षमा सम्पन्न कार्यक्रम कार्यक्रमको सहजीकरण अभियानका संस्थापक संयोजक तथा युवा कवि मिलन समीरले गर्नुभएको थियो ।

विमर्शमा शम्भु अर्याल, युवराज सुवेदी, वसन्त खनाल र पारिश्वर न्यौपानेले कृति माथि गहन समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । सहभागी साहित्यप्रेमीहरूले नयाँ प्रयोगधर्मी निर्बन्ध काव्यको सुरुवातप्रति खुशी व्यक्त गर्दै स्रष्टालाई शुभकामना दिएका थिए ।स्याङ्जाको करादीखोलामा जन्मिनुभएका मिलन समीर हाल वालिङमा बसेर सिर्जनात्मक कर्ममा सक्रिय रहनुहुन्छ । उहाँका गाउँमा साइरन बजेपछि (२०६९), प्रिय दुश्मन (२०७९), मिलन समीर र मिलन समीरहरु (२०८०) र मिलनमन्त्र (२०८०) लगायत कृतिहरू प्रकाशित छन् ।
उहाँ विभिन्न साहित्यिक कृतिको सम्पादनमा पनि सक्रिय रहँदै आउनुभएको छ र स्थानीय देखि राष्ट्रियस्तर सम्मका पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुभएको छ ।