स्याङ्जामा बहिरा अपाङ्गता भएका व्यक्तिका लागि तीन दिने कृषि तालिम सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा, चैत – स्याङ्जामा बहिरा अपाङ्गता भएका व्यक्तिहरुलाई तरकारी र अन्नबाली उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन दिने कृषि तालिम सम्पन्न भएको छ ।कार्यक्रम गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जा र स्याङ्जा बहिरा संघको संयुक्त आयोजनामा भएको हो ।कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई कृषि उत्पादनमा सक्षम बनाउने महत्व औँल्याउँदै भन्नुभयो, “हाम्रो कृषिप्रधान देशमा यस्तो तालिमले उनीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुर्‍याउँछ । हामी हरेक क्षेत्रमा उनीहरु सक्षम छन् भन्ने प्रमाणित गर्न निरन्तर पहल गर्नेछौं ।”

कृषि विकास कार्यालय प्रमुख प्रकाश वस्तीले अपाङ्गता भएका व्यक्तिहरुको कृषि प्रतिको उत्साहले व्यवसायिक कृषि र आधुनिक कृषि प्रविधिको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले यस प्रकारको तालिमले लक्षित नागरिकको जीवनस्तर सुधार्ने र उनीहरुलाई सशक्त बनाउने लक्ष्य रहेको बताउनुभयो ।तालिममा कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत अजय अधिकारी, कृषि अधिकृत संदीप रसाइली र बाली संरक्षण अधिकृत अम्बादत्त विष्टले तरकारी खेती, प्राङ्गारीक मल उत्पादन र विभिन्न खेतीका आधुनिक प्रविधि सम्बन्धी प्रशिक्षण दिनुभयो । तालिमको सहजता सुनिश्चित गर्न दोभाषे कार्य लक्ष्मी श्रेष्ठ र सुशिला रेग्मीले सहयोग गर्नु भएको थियो ।स्याङ्जा जिल्लामा कुल बहिरा अपाङ्गता भएका व्यक्तिहरुको संख्या २०० रहेको भएता पनि उक्त कार्यक्रममा ३० जनाको सहभागीता रहेको थियो ।