पाल्पा- नेपाली कांग्रेसका प्रतिनिधि क्षेत्र नं. १ का माननीय सन्दिप राना लाई सम्बोधन गर्दै बिनोद ढकालले पार्टीको आगामी अधिवेशनमा ४० वर्षमुनिका युवाहरूको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व तथा नेतृत्व विकास सुनिश्चित गर्न माग गर्दै खुला पत्र सार्वजनिक गरेका छन्।
ढकालले नेपाली कांग्रेसप्रति दृढ आस्था राख्ने एक सचेत युवा समर्थकको हैसियतले लेखिएको उक्त पत्रमा वर्तमान समयको लोकतान्त्रिक अभ्यासलाई सबल, समावेशी र समयसापेक्ष बनाउन युवाहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गरेका छन्। उनले तीव्र रूपमा परिवर्तन भइरहेको सामाजिक, आर्थिक तथा प्रविधिमैत्री परिवेशमा युवावर्ग नयाँ सोच, सिर्जनशीलता, ऊर्जा र परिवर्तनको स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेको भन्दै ती क्षमताहरूलाई पार्टीको नीतिनिर्माण तथा निर्णय प्रक्रियामा संस्थागत रूपमा समेटिनु अत्यावश्यक भएको बताएका छन्।
तर व्यवहारिक रूपमा हेर्दा युवाहरूको सहभागिता अझै पनि सीमित र औपचारिकतामै सीमित रहेको उल्लेख गर्दै उनले यस अवस्थाले भविष्यको नेतृत्व निर्माणमा चुनौती सिर्जना गर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
उक्त सन्दर्भमा, आगामी अधिवेशनलाई युवामैत्री, समावेशी तथा परिणाममुखी बनाउन उनले केही महत्वपूर्ण सुझावहरू अघि सारेका छन्। जसअन्तर्गत ४० वर्षमुनिका युवाहरूका लागि केन्द्रीय, प्रदेश तथा जिल्ला तहमा न्यूनतम प्रतिनिधित्व सुनिश्चित गर्ने स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने, नेतृत्व तहमा युवाको पहुँच बढाउन आरक्षण वा कोटाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, युवाहरूको नेतृत्व क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षण, अभिमुखीकरण तथा अवसरहरू संस्थागत रूपमा विस्तार गर्नुपर्ने, युवाका नवीन विचार, एजेन्डा र नीतिगत सुझावहरूलाई निर्णय प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्ने र पारदर्शी, निष्पक्ष तथा प्रतिस्पर्धात्मक प्रणालीमार्फत योग्य युवाहरूलाई नेतृत्वमा पुग्ने अवसर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
ढकालले यदि वर्तमान समयमा युवाहरूलाई उचित अवसर र जिम्मेवारी प्रदान नगरिएमा भविष्यमा नेतृत्वको शून्यता उत्पन्न हुन सक्ने गम्भीर जोखिम रहने चेतावनी दिएका छन्। उनले युवालाई केवल सहयोगी शक्तिको रूपमा नभई भावी नेतृत्वका रूपमा विकास गर्नुपर्ने दायित्व अहिलेको नेतृत्वले निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
अन्त्यमा, उनले माननीय रानाजस्ता जिम्मेवार तथा दूरदर्शी नेतृत्वबाट यस विषयमा सकारात्मक, व्यावहारिक र परिणाममुखी पहल हुने विश्वास व्यक्त गरेका छन्।












