स्थानीय तहमा जलवायु योजना कार्यान्वयनका लागि गल्याङमा अन्तर विषयगत छलफल सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा- स्थानीय तहमा जलवायु परिवर्तन सम्बन्धी योजना निर्माण तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले गल्याङ नगरपालिकामा अन्तर विषयगत समन्वयात्मक छलफल कार्यक्रम भएको छ । द एसिया फाउन्डेसनको आर्थिक सहयोग, आपसी सहयोग केन्द्र र गल्याङ नगरपालिकाको सहकार्यमा सञ्चालित आकार परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका प्रवक्ता पुणेश्वर सुवेदीले प्रशिक्षण मूलक प्रस्तुति दिँदै जलवायु परिवर्तनको वर्तमान अवस्था, यसको स्थानीय असर तथा न्यूनीकरणका उपायबारे प्रकाश पार्नुभएको थियो । उहाँले स्थानीय तहको योजना तथा बजेट निर्माणमा जलवायु संवेदनशीलता अनिवार्य रूपमा समेट्नुपर्नेमा जोड दिनुभएको थियो । छलफलका क्रममा सहभागीहरूले गल्याङ क्षेत्रमा बढ्दो जलवायु जोखिम अनियमित वर्षा, खडेरी, बाढी पहिरो लगायतका समस्याले कृषि, खानेपानी तथा जनजीवनमा पारेको प्रभावबारे चिन्ता व्यक्त गरेका थिए । उनीहरूले दिगो कृषि, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । त्यसैगरी, विभिन्न विषयगत समितिहरू बीच समन्वय अभाव हुँदा योजना कार्यान्वयनमा समस्या आउने गरेको उल्लेख गर्दै आगामी दिनमा संयुक्त योजना, प्रभावकारी अनुगमन तथा नियमित समीक्षा प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।
कार्यक्रममा स्थानीय अनुकूलन कार्ययोजना (लापा) का विषयमा समेत संक्षिप्त छलफल भएको थियो । लापा कार्यान्वयनका अनुभव, चुनौती तथा सुधारका सम्भावनाबारे मानबहादुर विकले सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा गल्याङ नगरपालिकाका नगरप्रमुख, नगर उपप्रमुख, विभिन्न वडाका अध्यक्षहरू, आक्स नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेल, लेखा प्रशासन प्रमुख शिव पोख्रेल, माउन्टेन रिसर्च एण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष कृष्ण प्रसाद ओझा, लापा कार्यक्रमसँग सम्बद्ध मानबहादुर विक, विभिन्न शाखाका शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा दिगो विकासका लक्ष्य हासिल गर्न स्थानीय तह बीच सहकार्य र समन्वयलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । उक्त कार्यक्रम यस अघि वालिङ नगरपालिकामा पनि भएको थियो ।