भवानी अधिकारी स्याङ्जा । पुतलीबजार नगरपालिका सहित सिद्धार्थ राजमार्गमा पार्किङ ब्यवस्थापनलाई ब्यवस्थित बनाउन सरोकारवालाबीच आइतवार छलफल सहित निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाको समन्वयमा जिल्ला प्रहरी कार्यालय, पुतलीबजार नगरपालिका, वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, यातायात शाखा, स्याङजा जिल्ला उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श नागरिक समाज, पत्रकार र वडा नं. १ का अध्यक्ष लगायत यातायात व्यावसायि लगायतको सहभागितामा पार्किङ्ग व्यवस्थापन सम्बन्धमा ९ बुदें निर्णय सार्वजनिक गरिएका छन् । पुतलीबजार नगरपालिका क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनहरु मुख्य राजमार्गमा पार्किङ्ग गर्न पाईनेछैन् । सार्वजानिक भाडाका सवारी साधन (बस, ट्रक, स्कुल बस, ट्रिपर, ट्याक्टर, मिनि बस, माइक्रो बस हाइस, पिकअप भन्दा ठूला सवारी साधनलाई बसपार्कमा पार्किङ्ग गर्न भनिएको छ ।
पिकअप र पिकअप भन्दा साना भाडाका सार्वजानिक सवारी साधन (ट्याक्सी, अटो रिक्सा) पुतलीबजार नगरपालिका वडा नं. १ को वसपार्कको तल्लो खण्डमा रहेको खुला स्थानमा पार्किङ गर्न निर्देशन दिईएको छ । ट्याक्सीकालागि ट्याक्सी चोकदेखि चापको रुख जाने भित्री बाटो बढीमा २ वटा ट्याक्सी स्टाण्डमा राख्ने अन्यले बसपार्कमा पार्किङ गर्ने, पिकअप वा सो भन्दा ठुला सवारी साधन मुख्य राजमार्गमा सवारी होल्ड गर्न नपाइने प्रहरीले जनाएको छ । यात्रु ओराल्र्र्नेे, चढ्ने गर्नका लागि पुतलीबजार ३ को बाडखोलाचोक, प्रगतिनगर नगरपालिकाको कार्यालय जाने चोक, घुम्तीचोकको प्रतिक्षालय, ट्याक्सी चोक, राङ्गखोला स्थित बिरुवा चोकमा व्यवस्था गरिएको छ । पुतलीबजार नगरपालिका बाहेक जिल्लास्थित अन्य पालिकामा पर्ने राजमार्गका शहरी क्षेत्र (हेलु, बयरघारी, मिर्दी वालिङ, गल्याङ, राम्दी, फेदीखोला) मा भने सवारी साधनको पार्किङ र यात्रु चढ्ने ओराल्ने कार्यका लागि सम्बन्धित पालिकासँग समन्वय गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले यकिन गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पेश गर्ने निर्णय भएको छ । र, मोटरसाइकल पार्किङ पुतलीबजार नगरपालिकाको भित्री सडकमा गर्ने, मुख्य राजमार्ग तथा भित्र सडकको पेटीमा निर्माण गरिएका अवैध संरचना, निर्माण सामाग्री, फुटपाथ पसल राख्न नपाइने भनिएको छ । यस्ता कार्य २०८३ वैशाख १ गते भित्र हटाउनुपर्ने यसको कार्यान्वयन सम्बन्धित पालिकाको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने निर्णय भएको छ । फुटपाथमा कुनैपनि सवारी साधन पार्किङ नगर्न भनि जिल्ला प्रशासन कार्यालय, स्याङजाले जनाएको छ ।












