बढ्दो तनाव, असन्तुलित जीवनशैली र मानसिक दबाबका कारण स्वास्थ्य समस्या बढ्दै गइरहेको अवस्थामा स्याङ्जाको जुग्लेमा साताव्यापी योग, ध्यान तथा सकारात्मक चिन्तन कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले ‘समग्र आरोग्य’को सन्देश प्रवाह गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ । आजको व्यस्त जीवनशैलीमा मानिसहरू शारीरिक रूपमा मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि थकित बन्दै गएका छन् । यस्तो अवस्थामा योग र ध्यानलाई प्राकृतिक, सरल र प्रभावकारी उपायका रूपमा लिइन्छ । योगले शरीरलाई लचिलो, सन्तुलित र सक्रिय बनाउँछ भने ध्यानले मनलाई शान्त, एकाग्र र स्थिर बनाउने काम गर्छ । नियमित अभ्यासले तनाव घटाउनुका साथै आत्मविश्वास वृद्धि, निद्रा सुधार, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने र समग्र जीवनशैली सन्तुलित बनाउन मद्दत पुर्याउँछ ।
आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले यस्तो कार्यक्रमले शारीरिक मात्र होइन, मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्य सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।त्यस्तै एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले योग, ध्यान र आयुर्वेद जस्ता मौलिक अभ्यासले नेपालको प्राकृतिक स्रोत, जडीबुटी र सांस्कृतिक पहिचानलाई विश्वमाझ पुर्याउने बताउदै आरोग्य पर्यटन (वेलनेस टुरिजम) मार्फत आर्थिक विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।जागृति आमा समूह जुग्लेको आयोजनामा सम्पन्न कार्यक्रममा १०० भन्दा बढीको सहभागिता रहेको थियो । सात दिनसम्म सञ्चालन भएको शिविरमा अनुभवी प्रशिक्षकहरूले योग अभ्यास, ध्यान र सकारात्मक सोचसम्बन्धी प्रशिक्षण दिएका थिए ।उल्लेखनीय रूपमा, संयुक्त राष्ट्र संघ महासभाले नेपालको प्रस्तावमा अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । “हिमालको चेतना, विश्वको आरोग्य” भन्ने नाराका साथ मनाइने यस दिवसले स्वास्थ्यलाई केवल रोगको अभाव नभई शारीरिक, मानसिक, सामाजिक र वातावरणीय सन्तुलनको रूपमा बुझ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।












