ज्येष्ठ नागरिकबाट बालबालिकाले सिके सारङ्गी

प्रकाशित मिति:

वैशाख ८ ।  गाउँघरमा पहिलेझैँ सारङ्गीको सुमधुर धुन सुनिन छाडेको थियो । आधुनिक सङ्गीतको प्रभाव र नयाँ पुस्ताको घट्दो चासोका कारण मौलिक बाजा ओझेलमा पर्दै गइरहेको अवस्थामा स्याङ्जामा भने एउटा सकारात्मक प्रयास सुरु भएको छ ।

पुतलीबजार १३ लामपाटामा गण्डकी प्रदेश सरकार अन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाले सञ्चालन गरेको १० दिने “अन्तरपुस्ता सीप हस्तान्तरण” कार्यक्रममा ज्येष्ठ नागरिकहरूले बालबालिकालाई सारङ्गी बजाउने सीप सिकाएका हुन् ।

नयाँ शैक्षिक सत्र सुरु हुनु अघि विदाको समयलाई उपयोग गर्दै करिब २० जना बालबालिकाले यस तालिममा सहभागिता जनाएका थिए । उनीहरू दैनिक रूपमा सारङ्गी समाएर धुन निकाल्ने अभ्यासमा व्यस्त देखिन्थे ।

स्याङ्जा उच्च माविमा कक्षा ७ मा अध्ययनरत जिवीका परियारले विद्यालय बिदाको समयलाई उपयोग गर्दै सारङ्गी सिक्न पाउँदा निकै खुसी लागेको बताइन् । यस्तै त्रिभुवन आदर्श माविका छात्र सुसान्त गन्धर्वले आफ्नो मौलिक पेशा र संस्कृति जोगाउने अवसरका रूपमा यसलाई लिएको बताए । उनले भविष्यमा सङ्गीत क्षेत्रमा अघि बढ्ने इच्छामा यस तालिमले थप हौसला दिएको पनि सुनाए ।

कार्यक्रमका प्रमुख जीवन पौडेलले गन्धर्व समुदायको पहिचानसँग जोडिएको सारङ्गी नेपाली संस्कृतिको महत्वपूर्ण धरोहर रहेको बताउनुभयो । यसको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको समेत बताउनुभयो । साथै सारङ्गी सिकाइले बालबालिकामा सृजनशीलता, धैर्यता, एकाग्रता र भावनात्मक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षक सुर्यमान गन्धर्वले यो केवल बाजा सिकाउने कार्यक्रम मात्र नभई संस्कृतिको जगेर्ना गर्ने अभियान भएको बताउनुभयो । उहाँले सिकेको सीपलाई निरन्तर अभ्यास गर्दै जीवनमा उपयोग गर्न बालबालिकालाई सुझाव दिनुभएको छ ।
तालिमका क्रममा सहभागी बालबालिकाले कर्खा, सवाई, चाँचरी, मंगलधुन, बाह्रमासे तथा घटनाप्रधान गीतहरूमा सारङ्गी बजाउने अभ्यास गरेका थिए ।
यस पहलले गाउँमा हराउँदै गएको सांगीतिक परम्परालाई पुनः जीवन्त बनाउने संकेत दिएको छ । अब सारङ्गीको धुन फेरि गाउँघरमा गुञ्जिन थालेको छ । जहाँ बुढापाकाको अनुभव र बालबालिकाको उत्साह एकसाथ मिसिएको छ ।

थप समाचार