बर्दघाटका खानेपानी सस्थाहरुलाई खानेपानी सुरक्षा योजना सम्बन्धि अभिमुखिकरण सम्पन्न

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
बैशाख ८ गते
नवलपरासी । बर्दघाट नगर क्षेत्रमा खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले खानेपानी सुरक्षा योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर भित्र सञ्चालनमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रतिनिधिहरूको सहभागितामा खानेपानी, सरसफाइ र वातावरणका सन्दर्भमा अभिमुखिकरण गरिएको थियो ।


बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले फोहोर व्यवस्थापनमा खानेपानी संस्थाहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै मुहान देखी उपभोक्ता मुखसम्म शुद्ध पानी पुर्‍याउन उपभोक्ता सचेतना जरुरी रहेको बताउनु भयो । शुद्ध पानीका लागी फोहोर ब्यवस्थापन अनिवार्य भएको बताउदै नगर प्रमुख श्रेष्ठले स्रोतमै फोहोर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । बर्दघाट नगरपालिकाले ‘वास शाखा’ (WASH Unit) नै छुट्याएर खानेपानी तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले शून्य फोहोर व्यवस्थापन अभियानमा बर्दघाट खानेपानी संस्थाले उदाहरणीय काम गरेको उल्लेख गर्दै सबै खानेपानी संस्थाहरूलाई यस अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो।


नगर प्रमुख श्रेष्ठले आफ्नो ‘१२ अभियान’ भित्र खानेपानी तथा सरसफाइलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्दै प्रत्येक १५ दिनमा एक दिन समय छुट्याएर सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध गर्नुभयो। साथै आगामी वर्षभित्र “एक घर एक धारा” अभियान सम्पन्न गर्ने लक्ष्यका साथ नगरपालिका अघि बढिरहेको जानकारी दिनुभयो। खानेपानी सेवा विस्तारका लागि नगरपालिकाले विशेष बजेटको व्यवस्था गर्ने बताउँदै उहाँले गरिब तथा विपन्न परिवारका लागि ७० प्रतिशत नगर, २० प्रतिशत संस्था र १० प्रतिशत उपभोक्ताको लागत साझेदारीमा धारा जडान गर्ने योजना रहेको उल्लेख गर्नुभयो । त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले खानेपानी तथा सरसफाइका सन्दर्भमा आम उपभोक्ता नै सचेत र जागरुक हुनु पर्नेमा जोड दिनु भयो ।


कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता प्रतिमा शर्माले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा लैङ्गिक समानता, सकारात्मक अभ्यास तथा देखिएका चुनौतीहरूबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले संस्थागत विकासका लागि लैङ्गिक समावेशिता अपरिहार्य रहेको बताउनुभयो। त्यस्तै खानेपानीको गुणस्तर र पानीजन्य रोगको बारेमा केमिस्ट विष्णु काफ्लेले सहजीकरण गर्नु भयो ।


कार्यक्रममा बेलहानी, पञ्चनगर, जहदा, चिसापानी, दाउन्नेदेवी, कर्मैया–लगुनाहा, चोसोमुल, ससारकोट, आम्बास र अमरदिप खानेपानी संस्थाबाट करिब १ सय जनाको सहभागिता रहेको थियो। बर्दघाट नगरपालिकाका वास फोकल पर्सन कृष्णहरी पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता र सचिब शोभकान्त कोइरालाको कार्यक्रम सञ्चालन गर्नुभएको थियो।