पोर्चुगलमा पहिलो नेपाली अग्निनियन्त्रक बन्न सफल रुपन्देहीका धरमराज भण्डारी
✍️भरत प्रधान
लिस्बन, १४ बैशाख । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली यहाँको स्वयंसेवी अग्निनियन्त्रक बन्न सफल भएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का ४२ वर्षीय धरमराज भण्डारी पोर्चुगलको पहिलो नेपाली अग्निनियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका हुन् । करिब डेढ वर्ष लामो अग्निनियन्त्रण, आपतकालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र कठिन तालिम सफलतापूर्वक पूरा गरी प्राविधिक तथा शारीरिक योग्यता हासिल गरेपछि भण्डारी स्वयंसेवी अग्निनियन्त्रक बनेका हुन् । तालिम पश्चात् भण्डारीले आवश्यक प्रक्रिया पूरा गरी सेतुबालको मोइता नगरपालिका अन्तर्गत रहेको ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’को अग्निनियन्त्रक दलमा आबद्ध भएका हुन् ।
‘बोम्बेइरोस् भोलुन्तारियोस दा मोइटा’ले केही साता अघि भण्डारीलाई एक औपचारिक समारोहका बीच स्वयंसेवी अग्निनियन्त्रकका रूपमा सेवामा प्रवेश गराएको हो । सो अवसरमा भण्डारीसहित अन्य पाँच जना नयाँ अग्निनियन्त्रकहरूलाई पनि सेवामा प्रवेश गराएको थियो । भण्डारी सहित नवनियुक्त अग्निनियन्त्रकहरुले संस्थाको झण्डासामु शपथ ग्रहण गर्दै सम्मान, कर्तव्यबोध र जिम्मेवारीका साथ समुदायको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पोर्चुगलको स्वयंसेवी अग्निनियन्त्रक (बोम्बेइरो) बन्न पाउँदा आफूलाई अत्यन्तै खुसी र गर्वको महसुस भएको भण्डारीले प्रतिक्रया दिए । ‘विदेशी भूमिमा मानवीय सेवासँग जोडिन पाउँदा एउटा नेपालीको नाताले गर्व र गौरवको अनुभूति भएको छ । पोर्चुगलले हामीलाई धेरै कुरा दिएको छ, हामीले पनि केही न केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले यो सेवामा जोडिएको हुँ,’ भण्डारीले भन्नुभयो, ‘यसलाई आत्मसन्तुष्टि र सौभाग्यका रूपमा लिएको छु ।’
उनका अनुसार यो सेवा पूर्ण रूपमा स्वयंसेवी हो । यसमा कुनै सेवासुविधा तथा पारिश्रमिक हुँदैन । ‘यो विशुद्ध सामाजिक र मानवीय सेवा हो, जसले छुट्टै सन्तुष्टि र आनन्द दिन्छ,’ उनले अगाडि थपे ।
भण्डारीको अग्निनियन्त्रक बन्ने यात्रा भने त्यति सहज थिएन । सुरुवातमा उनले पोर्चुगलका आधा दर्जनभन्दा बढी अग्निनियन्त्रण सेवा संस्थामा कोर्स र तालिममा आबद्ध हुनका लागि प्रयास गरेका थिए, तर धेरै ठाउँबाट अस्वीकृत हुनुपरेको थियो । अग्निनियन्त्रण संस्थाको प्रशासनमा गएर अग्निनियन्त्रक बन्ने लक्ष्य सुनाउँदा धेरैले अचम्म मानेको उनले बताए ।
अन्ततः ‘बोम्बेइरोस् भोलुन्तारियोस दा मोइटा’ले उनलाई अवसर दियो । उक्त अवसरलाई आफूले कडा मिहिनेतका साथ सदुपयोग गरेको भण्डारीले बताए । तालिमका क्रममा पोर्चुगिज भाषा ठुलो चुनौती बनेको उनले सुनाए । ‘भाषा राम्रो छैन, कसरी अग्निनियन्त्रक बन्नुहुन्छ ?’ भन्ने प्रश्न समेत उनले सामना गर्नुपरेको थियो । ‘म सक्छु र गर्छु भन्ने आत्मविश्वासका साथ अन्तिम समयसम्म समर्पित भएर लागिरहेँ अन्ततः सफल भएँ,’ उनले खुसी व्यक्त गर्दै संघर्षका पलहरू सुनाए ।

आफू छनोट भई नियुक्तिको प्रक्रिया चलिरहेकै बेला विदेशी नागरिकलाई अग्निनियन्त्रकका रूपमा नियुपक्त दिन नहुने भन्दै आफ्नो विरुद्धमा प्रशासनमा उजुरी परेको रोचक घटना समेत भण्डारीले सुनाए । तर प्रशासनले भने उक्त उजुरीलाई अस्वीकार गर्दै आफूलाई नियुक्ति दिएर अग्निनियन्त्रक दलको सेवामा प्रवेश गराएको उनले बताए । भण्डारीका अनुसार सँगै तालिममा सहभागी भएका केही पोर्चुगिजहरूले बीचमै तालिम छोडेर गए । जसमा कुल २२ जना सहभागी भएकामध्ये ६ जना मात्रै छनोट हुन सफल भए । तीमध्ये एसियाली मुलुकबाट आफू मात्र सहभागी भएको पनि उनले बताए ।
आफू अग्निनियन्त्रकका रूपमा आबद्ध हुँदा पोर्चुगिजहरू अत्यन्तै खुसी भएको उनले सुनाए । आफू अग्निनियन्त्रक बन्नुमा ‘बोम्बेइरोस् भोलुन्तारियोस दा मोइटा’का कमाण्डर पेड्रो फेरेइराको महत्वपूर्ण भूमिका रहेको भण्डारीले बताए । भाषाको कठिनाइका बाबजुद पनि सुरुवाती दिनदेखि नै कमाण्डरको निरन्तर सहयोग, मार्गदर्शन र उत्प्रेरणाले आफूलाई अग्निनियन्त्रक बन्न सहज भएको उनले बताए ।
भण्डारीको शपथ ग्रहण समारोहमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल समेत विशेष अतिथिका रूपमा सहभागी भएका थिए । पोर्चुगलको अग्निनियन्त्रण सेवामा नेपालीको औपचारिक आबद्धताले नेपाल र नेपालीको गौरव बढाएको राजदूत पौडेलले बताए । भण्डारीको उपलब्धि सिंगो नेपाली समुदायका लागि प्रेरणादायी र गर्वको विषय भएको उल्लेख गर्दै उनले पोर्चुगलमा आप्रवासी नेपाली समुदायको सकारात्मक छविलाई थप उजागर गरेको बताए । उक्त समारोहमा सहभागी उच्च अधिकारीहरूले समेत भण्डारीको उदाहरण प्रस्तुत गर्दै नेपाली समुदायको खुलेर प्रशंसा गरेको पौडेलले बताए । भण्डारीको आबद्धताले नेपाली समुदायलाई स्थानीय समाजसँग अझ घुलमिल हुँदै सामाजिक तथा मानवीय सेवाका गतिविधिमा सक्रिय हुन प्रेरित गरेको उनले बताए । यस्ता खालका सामाजिक गतिविधि र योगदानले जनस्तरमा नेपाल र नेपालीको इज्जत बढाउन तथा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने राजदूत पौडेलले बताए ।
लामो समय अरबका विभिन्न मुलुकमा रोजगारी गरेर पाँच वर्षअघि पोर्चुगल आएका भण्डारी सुरुमा रेस्टुरेन्टमा काम गरे । रेष्टुरेन्टको काम छाडेपछि उनले एक कम्पनीमा मेकानिक्सका रूपमा काम सुरु गरे । काम, कागजात र पारिवारीक बसाइलगायतका सबै कुराको अनुकूलता मिल्दै गएपछि सामाजिक सेवाभावका रूपमा यो सेवामा आबद्ध भएको उनले बताए । युवा अवस्थामै भारत बसाइका क्रममा सामाजिक र मानवीय सेवामा लाग्नुपर्छ भन्ने प्रेरणा पाएको र सोही प्रेरणाले समाजका लागि केही न केही योगदान गर्नुपर्छ भन्ने भावना जागृत भएको उनले बताए । रोजगारीका सिलसिलामा अरबका विभिन्न मुलुकमा रहँदा समेत रक्तदानलगायतका सामाजिक कार्यमा संलग्न रहने गरेको उनले सुनाए ।

‘बोम्बेइरोस् भोलुन्तारियोस दा मोइटा’का अग्निनियन्त्रक दलको टोलीको साथमा भण्डारी। तस्बिर : भरत प्रधान।
पोर्चुगलको अग्निनियन्त्रण सेवा सरकारी तथा स्वयंसेवी दुवै संरचनामा आधारित छ, जसले राज्यको नियमन, स्थानीय सरकारको सहयोग र पेशागत संयन्त्रसँगको समन्वयमा संयुक्त रूपमा काम गर्दै आएको छ । स्थानीय नागरिकहरूले आवश्यक तालिम लिएर स्वयंसेवी अग्निनियन्त्रकका रूपमा आगलागी नियन्त्रण, उद्धार तथा आपतकालीन सेवामा सक्रिय भूमिका निर्वाह गर्छन् । यहाँको अग्निनियन्त्रण सेवा आगलागी नियन्त्रणका साथै आकस्मिक चिकित्सा, एम्बुलेन्स सेवा, सडक दुर्घटना, बाढी तथा अन्य प्राकृतिक प्रकोपका बेला आपतकालीन उद्धार र राहत कार्यमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यो सेवालाई सामाजिक सम्मानका साथ लिइन्छ र समुदायमा आपसी सहयोग तथा मानवीय सेवाको महत्वपूर्ण माध्यम मानिन्छ । आगलागी तथा आपतकालीन उद्धार र राहत कार्यमा अग्रपंक्तिमा खटिनुपर्ने भएकाले अग्निनियन्त्रण सेवालाई अत्यन्तै जोखिमपूर्ण, चुनौतीपूर्ण, संवेदनशील र साहसिक कार्यका रूपमा समेत लिइन्छ ।
नेपाली नागरिक भण्डारीको यो सहभागिताले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायको गौरव बढाएको छ भने यहाँको समाजमा नेपालीहरूको पहिचान, योगदान र सामाजिक एकीकरणप्रतिको सकारात्मक सन्देश पनि दिएको छ । भण्डारीले आफूले पाएको अवसरलाई सामाजिक दायित्व र जिम्मेवारीका रूपमा लिएको बताए । ‘समुदायको सेवा गर्ने अवसर पाउनु मेरा लागि गर्व र सौभाग्यको कुरा हो । आगामी दिनमा अझ इमानदारी र समर्पणका साथ काम गर्नेछु,’ उनले भने । भण्डारी परिवारसहित पोर्चुगलमा बसोबास गर्दै आएका छन् ।












