उपभोक्ता सशक्तीकरण र सुरक्षीत पानीका लागि बर्दघाट खानेपानीमा सचेतता

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेठ ४ गते
नवलपरासी । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महिला सशक्तीकरण तथा समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा उपभोक्ताका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाट खानेपानी गौरव गर्नलायक संस्था बनेको बताउनुभयो । उपभोक्ताको लगानी, निर्णय प्रक्रियामा सहभागिता र प्रतिफलमा साझेदारीका कारण संस्था नगरकै गौरवमय संस्थाका रूपमा स्थापित भएको उहाँको भनाइ थियो । संस्थाका पूर्व अध्यक्षसमेत रहनुभएका उपाध्यायले बर्दघाट खानेपानीले उपभोक्ताको नेतृत्व विकास र क्षमता अभिवृद्धिमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै संस्थाले सञ्चालन गरेको ‘शून्य फोहोर अभियान’ सकारात्मक रहेको धारणा राख्नुभयो ।


सहभागीहरूबाट आएका सुझावहरूको सम्बोधन गर्दै बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्सालले पानीजन्य रोगबारे जानकारी गराउनुभयो । शुद्ध पानी पिउनाले धेरै रोगबाट बच्न सकिने उल्लेख गर्दै लम्सालले उपभोक्तालाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउन सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।


कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष कमल थापाले संस्थाको मुख्य उद्देश्य “मुहानदेखि मुखसम्म शुद्ध पानी पुर्‍याउनु” रहेको बताउनुभयो । पानीको शुद्धता आँखाले हेरेर मात्र थाहा नपाइने उल्लेख गर्दै उहाँले घरको धारामा कपडा नबाध्न उपभोक्तालाई आग्रह गर्नुभयो । हाल संस्थाले सात वटा मुहान प्रयोग गरी पानी वितरण गरिरहेको र २०६८ सालदेखि खानेपानी सुरक्षा योजना लागू गर्दै आएको जानकारी पनि उहाँले दिनुभयो ।


संस्थाकी कोषाध्यक्ष राधादेवी अधिकारीले आर्थिक पारदर्शितासहित संस्था अघि बढिरहेको बताउँदै नगरपालिकासँगको समन्वयमा ल्याब सञ्चालन गरिएको जानकारी दिनुभयो । संस्थाका व्यवस्थापक विष्णु भुसालले संस्थाको वित्तीय तथा भौतिक प्रगतिबारे जानकारी दिँदै सुरुमा १ हजार धारा वितरण गर्ने लक्ष्य राखिएकोमा हाल ४ हजार २ सयभन्दा बढी उपभोक्ता पुगेको बताउनुभयो ।


कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता प्रकाश न्यौपानेले खानेपानी तथा सरसफाइका क्षेत्रमा महिलाको पानीमा पहुँच, सुरक्षित र दिगो पानी व्यवस्थापन तथा निर्णय प्रक्रियामा सक्रिय सहभागिताका विषयमा सहजीकरण गर्नुभएको थियो । सहजीकरणका क्रममा न्यौपानेले समुदायस्तरमा पानीका स्रोत संरक्षण, समान पहुँच सुनिश्चित गर्ने उपाय तथा संस्थागत निर्णय प्रक्रियामा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले महिलाको सहभागिता बढेमा सेवा प्रवाह प्रभावकारी र उत्तरदायी बन्ने उल्लेख गर्नुभयो ।


बर्मेली टोल आमा समूहकी सुमित्रा थापाले खानेपानीको मुहान नजिक डम्पिङ साइट रहनु गम्भीर विषय भएको बताउनुभयो । उहाँले “हामीले फोहोरलाई सिरानी राखेर बसेका छौं” भन्दै खानेपानी उपभोक्ता संस्था र नगरपालिकाबीच समन्वय गरी डम्पिङ साइट तत्काल स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । साथै, खानेपानीको मुहान अवलोकनमा महिलाहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो । त्यस्तै, सरीता उपाध्यायले डिजिटल माध्यमबाट खानेपानीको बिल भुक्तानी गर्ने व्यवस्था र आधुनिक प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सहजता दिनुपर्ने धारणा राख्नुभयो । बिनु श्रेष्ठले आफूले गुणस्तरीय पानी पिएको अनुभूति गरेको बताउँदै नियमित र सफा पानी उपलब्ध हुनु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी बिना गौतमले २४सै घण्टा पानी उपलब्ध हुनु राम्रो पक्ष भए पनि पानीको फोर्स कम हुने समस्या रहेको गुनासो गर्नुभयो । सहभागी दिपिका सुबेदीले पानीको गुणस्तर राम्रो रहेको र फिल्टर नगरी नै पिउन मिल्ने अवस्था बनेको भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा खानेपानी तथा सरसफाइसम्बन्धी सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । साथै सहभागीहरूलाई संस्थाको गतिविधि, संरचना तथा वर्तमान अवस्थाबारे जानकारी गराइएको थियो ।


कार्यक्रमको अन्त्यमा सहभागीहरूले पानी चुहावट देखेमा खबर गर्ने, प्लास्टिक प्रयोग नगर्ने, कपडाको झोला प्रयोग गर्ने तथा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए । संस्थाको कार्यक्षेत्रभित्र रहेका बर्मेली टोल र नगरपालिका टोलका आमा समूहका करिब ५५ जना सदस्यहरूको सहभागितामा सम्पन्न कार्यक्रममा खानेपानीको स्वच्छता, सुरक्षा तथा वातावरणीय सरसफाइका विषयमा विस्तृत छलफल गरिएको थियो ।