आफू जलिरहे… समाज उज्यालो बनाइरहे

प्रकाशित मिति:

स्मरणमा योगी 1008 स्वामी विवेकानन्द सरस्वती महाराज ज्यू
“कहिलेकाहीँ भगवान् आफैँ मानिसको रूप लिएर आउँछन्…
तर हामी उहाँलाई चिन्न ढिला गर्छौं…”
सुन्दा अपत्यारिलो लाग्न सक्छ…
तर यो सत्य हो…
यो कथा केवल एउटा महायज्ञको होइन,
यो कथा हो —
मानिसको स्वार्थ मरेपछि जन्मिने मानवताको ।
आज तपाईं हामी बिहान आँखा खुल्ने बित्तिकै
दौडिन सुरु गर्छौं ।
कोही पैसाको लागि…
कोही नामको लागि…
कोही आफ्नो परिवारको लागि…
कोही आफ्नो भविष्यको लागि…
तर कहिल्यै एकछिन रोकिएर सोचेका छौं ?
हामीले यति धेरै जोडेको सम्पत्ति
एकदिन यहीँ छोडेर जानुपर्छ भने
किन यति धेरै घमण्ड ?
किन यति धेरै लोभ ?
किन यति धेरै द्वेष ?
मानिस जन्मिन्छ…
केही वर्ष संघर्ष गर्छ…
अनि एकदिन चुपचाप माटोमा मिल्छ ।
तर संसारले सबैलाई सम्झिँदैन ।
केवल त्यहीँ मानिस सम्झिन्छ
जसले अरूको लागि आफ्नो जीवन जलायो ।
मेरो गाउँ गुल्मीमा पर्छ ।
त्यहाँ हाम्रो आशा, हाम्रो सपना बनेको एउटा संस्था थियो —
श्री सत्यवती बहुमुखी क्याम्पस ।
कति गरीबका छोराछोरीले त्यहाँ पढे…
कतिले त्यहीँबाट सपना देखे…
कतिले त्यहीँबाट शहर चिने…
कतिले त्यहीँबाट जीवन बदल्ने साहस पाए ।
तर समय बदलियो…
विद्यार्थी घट्न थाले…
आर्थिक संकट बढ्न थाल्यो…
र एकदिन यस्तो अवस्था आयो —
क्याम्पस बन्द हुने डर सबैको आँखामा देखिन थाल्यो ।
त्यो भवन त केवल ईंटा र सिमेन्ट थिएन…
त्यो त हजारौं सपनाको घर थियो ।
त्यो बन्द हुनु भनेको
कति गरीब आमाबुबाको सपना मर्नु थियो ।
कति विद्यार्थीको भविष्य अन्धकार हुनु थियो ।
त्यो बेला हामी सबैको मनमा एउटै प्रश्न थियो —
“अब कसले बचाउने ?”
नेताले ?
सांसदले ?
सरकारले ?
तर जब संसारका ढोका बन्द हुन्छन्,
सायद त्यहीँ बेला भगवान्ले अर्को ढोका खोल्नुहुन्छ ।
हाम्रा गाउँका केही अग्रजहरू
देवघाटको आश्रम पुग्नुभयो ।
त्यहाँ दुई जना सन्यासी महाराजहरूसँग भेट भयो ।
उहाँहरूको न घर थियो…
न परिवार…
न बैंक खाता…
न सम्पत्ति…
तर मन ?
मन सागरभन्दा ठूलो थियो ।
हाम्रो गाउँसँग कुनै नाता थिएन…
तर हाम्रो पीडा सुनेपछि
उहाँहरूका आँखा रसाएछन् ।
अनि भन्नुभयो —
“शिक्षाको दियो निभ्न दिनु हुँदैन…”
त्यसपछि सुरु भयो
एउटा इतिहास ।
महायज्ञ सुरु भयो…
बिहानदेखि साँझसम्म अखण्ड भण्डारा…
जो आयो, उसले खाना पायो ।
कोही गरीब कि धनी भनेर छुट्याइएन ।
कसैले “मेरो” भनेन…
सबैले “हाम्रो” भन्न थाले ।
त्यो दृश्य हेर्दा लाग्थ्यो —
मानिस अझै मरेको छैन ।
मानवता अझै बाँचेको छ ।
साँझ दीप प्रज्वलन हुन्थ्यो…
पूरै गाउँ उज्यालोले भरिन्थ्यो…
भजन बज्थ्यो…
आमाहरू रोइरहनुहुन्थ्यो…
बुबाहरू चुपचाप आँखा पुछिरहनुहुन्थ्यो…
किनकि त्यहाँ केवल धार्मिक कार्यक्रम भइरहेको थिएन…
त्यहाँ मानिसहरूको मन शुद्ध भइरहेको थियो ।
अनि सबैभन्दा ठूलो चमत्कार के भयो थाहा छ ?
जसले कहिल्यै सहयोग नगरेका थिए,
उनीहरूले पनि मन खोले ।
कसैले धान दिए…
कसैले चामल दिए…
कसैले पैसा दिए…
कसैले श्रम दिए…
हेर्दाहेर्दै करोडौं सहयोग उठ्यो ।
तर त्यो पैसा भन्दा ठूलो कुरा के थियो भने —
त्यहाँ मानिसहरूको मन जोडिएको थियो ।
त्यो दिन महसुस भयो —
संसार पैसा ले मात्र चल्दैन रहेछ…
संसार त विश्वासले चल्दो रहेछ ।
उहाँहरू
1008 स्वामी विवेकानन्द सरस्वती महाराज

1008 स्वामी ज्ञानानन्द सरस्वती महाराज
उहाँहरूले कसैसँग केही माग्नुभएन ।
तर जब जब उहाँहरू बोल्नुहुन्थ्यो,
मानिसभित्रको पत्थरजस्तो मन पग्लिन्थ्यो ।
अहंकार हराउँथ्यो ।
लोभ हराउँथ्यो ।
मानिसलाई मानिसको पीडा देखिन थाल्थ्यो ।
अनि अन्तिम दिन…
ठूलो धानको थुप्रो माथि उभिएर
दुई जना गुरुहरूले शान्ति पाठ गर्नुभयो ।
तल हजारौं मानिस…
दुई हात जोडेर…
आँखाभरि आँसु लिएर उभिएका थिए ।
त्यो बेला मैले महसुस गरेँ —
“त्याग गर्ने मानिस कहिल्यै गरीब हुँदैन रहेछ…”
कार्यक्रम सकियो ।
क्याम्पस समितिले दक्षिणा दिनुभयो ।
तर…
उहाँहरूले त्यो लिफाफा
हेर्नुभयो मात्र…
र तुरुन्त फिर्ता गरिदिनुभयो ।
त्यो क्षणमा मन भित्र केही भाँचियो…
हामी त सानो पैसाको लागि आफन्तसँग टाढिन्छौं…
सानो सम्पत्तिको लागि दाजुभाइ छुट्टिन्छन्…
तर जसले करोडौं उठायो
उसले आफ्नो लागि एक रुपैयाँ राखेन ।
किन ?
किनकि योगीहरू कमाउन होइन,
बाँड्न जन्मिएका हुन्छन् ।
आज
1008 स्वामी विवेकानन्द सरस्वती महाराज
ब्रह्मलीन हुनुभएको खबरले मन धेरै रोयो ।
तर शायद महान आत्माहरू मर्दैनन्…
उहाँहरू शरीर छोड्नुहुन्छ,
तर प्रेरणा बनेर बाँच्छन् ।
आज पनि उहाँको आवाज कतै सुनिएजस्तो लाग्छ —
“अरूको लागि बाँच्न सिक…”
“शिक्षाको दियो निभ्न नदेऊ…”
“मानिस भएर मानिसको काम गर…”
सायद यही जीवनको साँचो धर्म हो ।
आज हामीले ठूलो घर बनाएर के पायौं ?
ठूलो गाडी किनेर के पायौं ?
यदि हाम्रो गाउँको एउटा विद्यार्थी
पढ्न नपाएर रोइरहेको छ भने…
यदि एउटा संस्था पैसाको अभावमा बन्द हुँदैछ भने…
यदि हाम्रो सहयोगले कसैको भविष्य बच्न सक्छ भने…
हामीले अब पनि चुप लागेर बस्न मिल्छ ?
एकदिन हामी सबै जान्छौं…
तर जाने बेला
हाम्रो बैंक ब्यालेन्स साथ जाँदैन…
साथ जान्छ त केवल —
कसैको आँसु पुछेको सम्झना ।
कसैको भविष्य बचाएको पुण्य ।
कसैको जीवनमा आशा बनेको आशीर्वाद ।
त्यसैले…
यदि तपाईंले यो कथा पढेर
मन अलिकति पनि काँप्यो भने…
यदि आँखामा आँसु आयो भने…
यदि भित्र कतै “मैले पनि केही गर्नुपर्छ” भन्ने भावना जाग्यो भने…
त्यही नै यी महान आत्माहरूको साँचो विजय हो ।
श्रद्धेय
1008 स्वामी विवेकानन्द सरस्वती महाराज
प्रति हार्दिक श्रद्धाञ्जली ।
उहाँको मार्गले हजारौं मानिसलाई अझै पनि उज्यालो दिइरहोस्… ।