बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल प्रहरी लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा हालै आएका कार्यालय प्रमुख प्रहरी उपरिक्षक (एसपी) निशान थापालाई स्वागत गर्दै ट्राफिक तथा पार्किङ् व्यवस्थापनमा बुटवललाई नमुना शहरका रुपमा विकास गर्न सुझाव दिएको छ । बुधबार संघमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले साना साना कुराहरुमा सुधार गर्दा त्यसले ठूलो परिणाम दिने बताउँदै त्यसमा ध्यान दिन विशेष आग्रह गरे । उनले ट्राफिक तथा पार्किङ् व्यवस्थापन बुटवलको जल्दोबल्दो समस्या रहेको बताउँदै त्यसको व्यवस्थापनका लागि बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा भएका पहलकदमीबाट केही सुधार भएको पनि जानकारी गराए ।
‘पार्किङ्का लागि ठाउँ छैन, सवारी साधान बढिरहेका छन् ।’ अध्यक्ष अर्यालले भने–‘यस्तो अवस्थामा कसरी व्यवस्थापन गर्न सकिन्छ, कार्यालयको तर्फबाट तपाईपनि अध्ययन गर्नुहोस्, हामी पनि सहयोग गर्न तयार छौं ।त्यस अवसरमा उद्योगी व्यवसायीहरुले सडक प्रयोगकर्तालाई सडक अनुशासन पालना गराउन, सार्जजनिक सवारी साधनहरुले जथाभावी गाडी रोक्ने र चढाउने÷ओराल्ने प्रबृत्ति रोक्न आग्रह गरेका थिए । त्यस्तै ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा रहेको अटो–रिक्सा व्यवस्थापनका लागि समेत ध्यानाकर्षण गराएका छन् । बुटवल लुम्बिनी प्रदेशकै प्रमुख व्यापारिक शहर समेत भएकाले सामान ढुवानीमा प्रयोग हुने पिकअप गाडिको सवालमा परिस्थितीको मुल्यांकन गरेर व्यवहारिक कार्यान्वयन गर्न आग्रह गरेका छन् । बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा ट्राफिक व्यवस्थानका लागि मुख्य बजार क्षेत्रमा सडकको एकतर्फ पार्किङ्को व्यवस्था गरिएको र त्यसले ट्राफिक व्यस्थापनमा सुधार भएको भन्दै अझै प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक थापाले आफू भर्खरै आएकाले यहाँको बस्तुस्थितीको अध्ययन गरिरहेको र धेरै तिरबाट सुझावहरु प्राप्त भईरहेको बताए । उनले सानासाना कुराहरुको सुधारले ठूलो परिणाम पाउने कुरामा आफू विश्वस्त रहेको बताउँदै प्राप्त सुझावहरु ठूला र गर्न नसकिने खालका नभएको बताए । उनले कानुनी तथा व्यवहारिक कुराहरुलाई ध्यानमा राखेर व्यवसायिक संघसंस्था लगायत सबैसंग समन्वय र सहकार्य गरेर अंगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । एसपी थापाको स्वागत कार्यक्रममा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्ति अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल सहित कार्यसमिति सदस्यहरु उद्योगी, व्यवसायीहरुले ट्राफिक तथा पार्किङ व्यवस्थापनमा बुटवललाई मोडलकै रुपमा विकास गर्न सुझाव दिँदै त्यसमा आफूहरुको पूर्ण साथ र सहयोग रहने बताएका छन् ।












