सेवाग्राहीको सुविधाका लागि सुस्ता ४ मा वडा अध्यक्ष गुरुङ्गद्वारा ई-रिक्सा सञ्चालन
श्याम बुचा-सुस्ता २० असार- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ४ ले वडा कार्यालय र स्वास्थ्य संस्थामा आउने सेवाग्राहीको सहजताका लागि निःशुल्क ई-रिक्सा (इरिक्सा) सेवा सञ्चालनमा ल्याएको छ ।भौगोलिक रूपमा टाढा रहेका र यातायातको पहुँच कम भएका बस्तीका नागरिकलाई वडा कार्यालय तथा स्वास्थ्य संस्था सम्म आवतजावत गर्न सजिलो होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।वडा अध्यक्ष निल बहादुर गुरुङ्गको विशेष पहलमा सुरु गरिएको उक्त ई-रिक्सा सेवाले विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र विपन्न वर्गका सेवाग्राहीलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।
सेवाको सुरुवात गर्दै वडा अध्यक्ष गुरुङ्गले भन्नुभयो, “हाम्रो वडाका कतिपय टाढाको बस्तीबाट सेवाग्राहीहरू सामान्य सिफारिस वा कामका लागि र गर्भवती,जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिन पनि घामपानी नभनी हिँडेर वडा कार्यालय आउनुपर्ने बाध्यता थियो ।नागरिकलाई स्थानीय सरकारको आभास दिलाउन र सेवा प्रवाहलाई प्रविधिमैत्री एवं सहज बनाउन हामीले ई-रिक्सा सञ्चालनमा ल्याएका हौँ।”वडा कार्यालयका अनुसार यो ई-रिक्साले वडाभित्रका विभिन्न गाउँ तथा मुख्य चोकहरूबाट अति बिपन्न तथा असाहय नागरिक स्वास्थ्य तथा वडा कार्यालयका सेवाग्राहीलाई वडा कार्यालय र स्वास्थ्य संस्था सम्म ल्याउने र काम सकिएपछि पुर्याउने तालिका मिलाएको छ । वडा सरकारको यो जनमुखी कार्यप्रति स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गर्दै स्वागत गरेका छन् ।वातावरणमैत्री र ध्वनिरहित यो सवारी साधनको प्रयोगले वातावरणीय प्रदूषण कम गर्न समेत मद्दत पुग्ने वडा कार्यालयले जनाएको छ । कार्यक्रममा वडा सचिव भोज कुमारी जोशी, कार्यपालिका सदस्य, वडा सदस्यहरू तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।













