निर्माणाधीन बुटवल–गोरुसिङ्घे सडक खण्डअन्तर्गत सैनामैना नगरपालिका–स्थित घमाहा पुल १५ दिनभित्र मर्मत गरी सवारी आवागमन सुचारु गर्ने प्रतिबद्धता सडक आयोजना कार्यालय तथा निर्माण कम्पनीले गरेका छन् ।पुल भत्किएर करिब दुई महिनादेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेपछि स्थानीयवासीले सास्ती खेपिरहेका छन् । वैकल्पिक सडकसमेत जीर्ण बन्दै गएपछि दैनिक आवतजावत, व्यापार, शिक्षा तथा आकस्मिक सेवामा समेत गम्भीर असर परेको छ ।यही समस्यालाई केन्द्रमा राख्दै सैनामैना प्रेस क्लबले शनिवार सैनामैना ३ पर्सवालमा सरोकारवाला निकाय, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीय नागरिकबीच सैनामैनाको सडक सुरक्षाः आम नागरिकको गुनासो विषयमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा स्थानीयले आयोजना कार्यालय र निर्माण कम्पनीको ढिलासुस्ती तथा लापरबाहीका कारण नागरिकले अनावश्यक दुःख भोग्नुपरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका थिए ।
बृहत अन्तरक्रिया कार्यक्रमका क्रममा आयोजना कार्यालय तथा निर्माण कम्पनीका प्रतिनिधिले १५ दिनभित्र पुल मर्मत सम्पन्न गरी सवारी आवागमन सुचारु गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका छन् ।यद्यपि स्थानीयवासीले यसपटक पनि प्रतिबद्धता कार्यान्वयन नभए केवल आश्वासनमा सीमित नबस्ने चेतावनी दिएका छन् । उनीहरूले १५ दिनभित्र काम सम्पन्न नभए आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै सम्बन्धित निकायमाथि दबाब सिर्जना गर्ने घोषणा गरेका छन् ।लामो समयदेखि पुल सञ्चालनमा आउन नसक्दा स्थानीय बासिन्दा, यात्रु तथा व्यवसायी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । नागरिकहरूले अब थप आश्वासनभन्दा पनि तोकिएको समयमै काम सम्पन्न भएको हेर्न चाहेको बताएका छन् ।सैनामैना प्रेस क्लबले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको यो विषयमा सम्बन्धित निकायको प्रतिबद्धता कार्यान्वयन भए–नभएको निरन्तर अनुगमन गर्ने जनाएको छ ।









