रूपन्देही उद्योग संघद्वारा पाल्पामा वस्तुगत समिति प्रशिक्षण कार्यक्रमको आयोजना
पाल्पा,असार – रूपन्देही उद्योग संघले वस्तुगत समितिका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि र संस्थालाई अझ प्रभावकारी बनाउने उद्देश्यले वस्तुगत समिति प्रशिक्षण कार्यक्रम पाल्पामा सम्पन्न गरेको छ । रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले कार्यक्रमको अध्यक्षता गर्नुहुँदै वस्तुगत समितिहरू संघको महत्वपूर्ण आधार भएको बताउनुहुँदै समितिका पदाधिकारी र सदस्यहरू सक्षम, सक्रिय र जिम्मेवार भएमा संघ अझ प्रभावकारी बन्ने उल्लेख गर्दै वहाँले प्रशिक्षणबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा लागू गरी उद्योगी–व्यवसायीको हितमा अझ सक्रिय भएर काम गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा स्वागत गर्नुहुँदै संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले वस्तुगत समितिहरूलाई आफ्नो पदीय जिम्मेवारीमा गरिमा बढाइदिनु हुन आग्रह गर्नुभयो। यस्तो कार्यक्रमले अनुभव आदानप्रदान, नेतृत्व विकास र संस्थागत कामलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वाससमेत वहाँले व्यक्त गर्नुभयो ।
प्रशिक्षणका क्रममा प्रशिक्षण दिनुहुँदै पूर्व अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले रूपन्देही उद्योग संघको स्थापना, उद्देश्य, इतिहास र सघंले अहिलेसम्म तय गरेको यात्राबारे जानकारी गराउनुभयो। उद्योगी–व्यवसायीको हकहितका लागि स्थापना भएको सघंले विभिन्न चुनौती पार गर्दै निजी क्षेत्रको बलियो संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको वहाँले बताउनुभयो ।
प्रशिक्षणकै क्रममा पूर्व अध्यक्ष एजाज आलमले वस्तुगत समिति गठनको उद्देश्य, समितिको भूमिका तथा सघंले सामाजिक क्षेत्रमा गरेको योगदानबारे प्रकाश पार्नुभयो। वस्तुगत समितिले सदस्यका समस्या र आवश्यकतालाई सघंसम्म पुयाउन आग्रह गर्नुहुँदै वहाँले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सघंले निरन्तर काम गर्दै आएको बताउनुभयो ।पूर्व अध्यक्ष एवं अध्यक्ष परिषद्का संयोजक तेजकुमार पाठकले रूपन्देही उद्योग संघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको इतिहास, उद्देश्य र आफ्ना अनुभवहरू सुनाउनुका साथै प्रदर्शनीले स्थानीय उद्योग, उत्पादन र उद्यमशीलताको विकास तथा बजार विस्तारमा महत्वपूर्ण योगदान पुयाउँदै आएकोे बताउनुभयो ।
प्रशिक्षणका क्रममा पूर्व अध्यक्ष दिनेशराज रेग्मीले वस्तुगत समितिलाई नेतृत्व विकास गर्ने राम्रो अवसर भएको बताउनुभयो। समितिमा सक्रिय भएर काम गर्दा अनुभव, आत्मविश्वास र नेतृत्व क्षमता बढ्ने भएकाले सबैलाई निरन्तर क्रियाशील रहन वहाँले आग्रह गर्नुभयो ।
त्यसैगरी प्रशिक्षणकै क्रममा पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक माधव प्रसाद पौडेलले बदलिँदो समयसँगै वस्तुगत समितिहरूले नयाँ सोच र कार्यशैली अपनाउनुपर्ने बताउनुभयो। आफ्ना अनुभव साझा गर्दै वहाँले संस्थाको विकासका लागि सबै मिलेर जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खुला छलफल सत्रसमेत सञ्चालन गरिएको थियो। सहभागीहरूले आफ्ना जिज्ञासा, सुझाव र अनुभव राख्दै वस्तुगत समितिको भूमिका, नेतृत्व विकास र संस्थागत सुधारका विषयमा खुला रूपमा विचार आदानप्रदान गरेका थिए।संघका महासचिव सुमन बस्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका पूर्व अध्यक्षज्यूहरू, संघका पदाधिकारी, वस्तुगत समिति संयोजक, सहसंयोजक, सचिव तथा सदस्य,संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी,कार्यक्रम अधिकृत प्रदिप पन्थी सहित ६२ जनाको सहभागिता रहेको थियो।कार्यक्रमको समापन गर्दै रूपन्देही उद्योगसंघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिबहादुर खत्रीले प्रशिक्षण सफल बनाउन सहयोग गर्ने पूर्व अध्यक्षज्यूहरू, सहभागी तथा सम्पूर्ण टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो । वहाँले प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै वस्तुगत समितिलाई अझ सक्रिय र प्रभावकारी बनाउन सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूर्वक काम गर्नुपर्ने बताउनुभयो।संघको बलियो खम्बाको रूपमा रहेका वस्तुगत समितिहरूलाई सक्रिय बनाउने एक अर्को बीचको सम्बन्ध र व्यवसायिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको संघले जनाएको छ









