आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि वेस्टर्न मेगा कलेज र एएनटीएस नेपालबीच साझेदारी

प्रकाशित मिति:

बुटवल । बुटवलस्थित वेस्टर्न मेगा कलेज प्रा.लि. र काठमाडौंको अग्रणी सूचना प्रविधि कम्पनी अल नेपाल टेक सोलुसन्स प्रा.लि. (ANTS) बीच शैक्षिक तथा औद्योगिक सहकार्यसम्बन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।सम्झौतापत्रमा वेस्टर्न मेगा कलेजका प्राचार्य अधिवक्ता किशु शर्मा र एएनटीएस नेपालका चीफ टेक्निकल अफिसर इन्जिनियर सुलभ नेपाल ले हस्ताक्षर गरेका हुन् ।सम्झौतासँगै अब कलेजका विद्यार्थीहरूले कम्पनीमा इन्टर्नसिप, औद्योगिक प्रशिक्षण, रोजगारी सहयोग, रियल–टाइम सफ्टवेयर प्रोजेक्ट, प्रोफेसनल सर्टिफिकेसन, मेन्टरसिप तथा इन्डस्ट्री भिजिट जस्ता अवसर प्राप्त गर्नेछन्।

प्राचार्य किशु शर्माले उद्योग र शैक्षिक संस्थाबीचको दूरी घटाउँदै विद्यार्थीलाई बजारको मागअनुसार दक्ष बनाउने दिशामा यो सहकार्य महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरे। उनले सैद्धान्तिक ज्ञानसँगै वास्तविक सूचना प्रविधि (आईटी) वातावरणको अनुभव दिलाई विद्यार्थीको व्यावसायिक भविष्यलाई थप मजबुत बनाउने उद्देश्यले यस्तो सहकार्यलाई प्राथमिकता दिइएको बताए।सम्झौताअन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम, संयुक्त अनुसन्धान, नवप्रवर्तन तथा पाठ्यक्रम परिमार्जन सम्बन्धी गतिविधिहरू पनि सञ्चालन गरिनेछ। सहकार्यको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि दुवै संस्थाका प्रतिनिधि सम्मिलित ज्वाइन्ट स्टेयरिङ कमिटी समेत गठन गरिने जनाइएको छ।वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा बीएचएम (BHM) सञ्चालन गर्दै आएकोमा यसै वर्षदेखि चारवर्षे बीआईटी (BIT) कार्यक्रम पनि सुरु गरेको छ। कलेजले शैक्षिक सत्र २०८३ का लागि BIT, BHM तथा दुईवर्षे MBA कार्यक्रममा छात्रवृत्तिसहित भर्ना खुला गरेको जनाएको छ।