असार २८ । कैलालीमा मालबाहक ट्रकहरूले क्षमताभन्दा बढी सामान बोकेर सञ्चालन गर्ने क्रम बढेपछि ट्राफिक प्रहरीले निगरानी कडा बनाएको छ । सेती महाकाली ट्रक व्यवसायी संघसँगको समन्वयमा ओभरलोड बोकेर चल्ने ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउने अभियान तीव्र पारिएको हो ।
ट्रक व्यवसायीका अनुसार विगतमा ट्राफिक प्रहरी र व्यवसायीका प्रतिनिधिको संयुक्त टोलीले नियमित रूपमा ओभरलोड नियन्त्रणका लागि चेकजाँच गर्दै आएको थियो । पछिल्लो समय संयुक्त अनुगमन रोकिएपछि क्षमताभन्दा बढी सामान बोकेर ट्रक सञ्चालन गर्ने प्रवृत्ति बढेको उनीहरूको गुनासो छ ।
केही दिनअघि भैरहवाबाट कृषि सामग्री कम्पनी लिमिटेड, धनगढीका लागि रासायनिक मल बोकेर आएका दुईवटा ट्रकले तोकिएको क्षमताभन्दा करिब १० र १० टन बढी सामान लोड गरेको भेटिएको थियो । सेती महाकाली ट्रक व्यवसायी संघका पदाधिकारीको सक्रियतामा ती ट्रकलाई कृषि सामग्री कम्पनीको कार्यालयबाटै नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानका क्रममा ती ट्रकले रुट परमिट तथा जाँचपास समेत नगरी अत्यधिक भार बोकेर सञ्चालन गरेको तथ्य खुलेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरेको थियो ।
ट्राफिक प्रहरीको सिफारिसका आधारमा यातायात व्यवस्था कार्यालयले मधेश प्रदेश ०३–००२ ख ५३७६ र ५३७७ नम्बरका ट्रकलाई जनही पाँच हजार रुपैयाँका दरले जरिवाना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार अहिले जिल्लाभर मालबाहक ट्रकमाथि विशेष निगरानी बढाइएको छ । शनिबार मात्रै दाङबाट सिमेन्ट बोकेर धनगढी आउँदै गरेको भे १ ख ४५५० नम्बरको ट्रकले पनि क्षमताभन्दा बढी सामान बोकेको भेटिएपछि नियन्त्रणमा लिएर अतिरिक्त सामान अनलोड गराई कानुनी कारबाही गरिएको छ ।
प्रहरीका अनुसार ओभरलोडका कारण सवारी दुर्घटनाको जोखिम मात्र होइन, सडक तथा पुलको संरचनामा समेत गम्भीर असर पर्ने भएकाले यस्ता सवारी माथि निरन्तर निगरानी र कडा कारबाही आवश्यक छ । ट्राफिक प्रहरीले आगामी दिनमा पनि ओभरलोड बोकेर सञ्चालन हुने सवारीसाधन माथि अनुगमनलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।









