बर्दघाट खानेपानीको सफल अभ्यास अन्य संस्थाका लागि प्रेरणादायी : सचिव पौडेल
प्रकाश न्यौपाने
साउन ८ गते
नवलपरासी। उपभोक्तालाई गुणस्तरीय, सुरक्षित तथा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था देशभरका खानेपानी संस्थाहरूका लागि अध्ययन तथा अवलोकनको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। सोही क्रममा शुक्रबार शहरी विकास तथा खानेपानी मन्त्रालय, राप्ती उपत्यका दाङ–देउखुरीका सचिव बासुदेव पौडेल नेतृत्वको टोलीले संस्थाको स्थलगत अनुगमन तथा अवलोकन गरेको छ।
अनुगमनका क्रममा संस्थामा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यसमिति, लेखा सुपरिवेक्षण समिति, खानेपानी सुरक्षा योजना टोली, सरसफाइ उपसमिति तथा संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाको वर्तमान अवस्था, सेवा विस्तार, व्यवस्थापन प्रणाली, गुणस्तर नियन्त्रण, खानेपानी सुरक्षा योजना तथा भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव बासुदेव पौडेलले बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सुरुदेखि नै देशकै नमुना संस्थाका रूपमा परिचित रहेको उल्लेख गर्दै यसले बनाएको साख र पहिचानलाई जोगाइराख्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले कुनै पनि संस्था सफल हुनुमा नेतृत्व मात्र नभई त्यस क्षेत्रका उपभोक्ता, कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको साझा योगदान रहने उल्लेख गर्दै बर्दघाटमा विकसित भएको संस्थागत प्रणाली अन्य संस्थाहरूका लागि पनि अनुकरणीय रहेको धारणा राख्नुभयो। गुणस्तरीय सेवा प्रवाह, पारदर्शी व्यवस्थापन र उपभोक्तामैत्री कार्यशैलीका कारण संस्थाले राष्ट्रिय स्तरमै छुट्टै पहिचान बनाएको उहाँको भनाइ थियो।
कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यालय नवलपरासीका प्रमुख दिनेश शाहले संस्थाले खानेपानी र सरसफाइ क्षेत्रमा गर्दै आएको कार्य प्रशंसनीय रहेको बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा जिल्लाको खानेपानी क्षेत्रमा प्रदेश सरकारबाट सघन कार्यक्रमतर्फ ४ करोड रुपैयाँ, गुणस्तर सुधार कार्यक्रमतर्फ ९० लाख रुपैयाँ तथा सशर्त कार्यक्रमतर्फ ९० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरी जिल्लावासीलाई थप गुणस्तरीय सेवा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो।
संस्थाका अध्यक्ष दीपक लम्सालले मन्त्रालय तथा सम्बन्धित निकायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा साना तथा समुदायमा आधारित खानेपानी आयोजनाहरूलाई पनि प्राथमिकताका साथ बजेट उपलब्ध गराउन आग्रह गर्नुभयो। संस्थाले गुणस्तर सुधार, प्रयोगशाला व्यवस्थापन, खानेपानी सुरक्षा योजना तथा पूर्वाधार विकासका लागि थप सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयको निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।
उपाध्यक्ष कमल थापाले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको स्थापना, विकास यात्रा तथा वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो। उहाँले अग्रज नेतृत्वले स्थापना गरेको सुशासन, पारदर्शिता र संस्थागत प्रणालीलाई निरन्तरता दिँदै संस्था अगाडि बढिरहेको बताउँदै उपभोक्ताको विश्वास नै संस्थाको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा संस्थाका व्यवस्थापक विष्णु भुसालले संस्थाको समग्र गतिविधि, सेवा क्षेत्र, उपभोक्ता संख्या, पूर्वाधार विकास, पानीको गुणस्तर परीक्षण, वित्तीय अवस्था, सरसफाइ कार्यक्रम तथा आगामी योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले संस्थाले सुरक्षित खानेपानी वितरणसँगै वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा उपभोक्ता सचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो।
अन्तरक्रिया कार्यक्रम सम्पन्न भएपछि मन्त्रालयको अनुगमन टोलीले संस्थाको कार्यालय परिसर, पानी प्रशोधन प्रणाली, प्रयोगशाला, वितरण प्रणाली तथा अन्य भौतिक संरचनाको स्थलगत अवलोकन गरेको थियो। टोलीले संस्थाले अपनाएको व्यवस्थापन प्रणाली, सेवा प्रवाह तथा गुणस्तर नियन्त्रणका उपायहरूको प्रशंसा गर्दै यस्ता असल अभ्यासलाई अन्य खानेपानी संस्थाहरूमा समेत विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको थियो।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था विगत लामो समयदेखि गुणस्तरीय खानेपानी सेवा, पारदर्शी व्यवस्थापन र उपभोक्तामुखी कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका रूपमा परिचित छ। यही कारण देशका विभिन्न जिल्लाबाट अध्ययन, अवलोकन तथा अनुभव आदान–प्रदानका लागि विभिन्न टोलीहरू नियमित रूपमा यहाँ आउने गरेका छन्।









