बुटवलमै पहिलो पटक अत्याधुनिक DTF प्रिन्टिङ सेवा सुरु, युवाको लगानीमा स्वदेशमै रोजगारी सिर्जनाको अभियान
बुटवल । बुटवल क्षेत्रमै पहिलो पटक अत्याधुनिक DTF (Direct to Film) प्रिन्टिङ सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। बुटवल–७, दिपनगरस्थित प्रिन्टओरा प्रालि ले शनिबार एक विशेष समारोहका बीच कपडामा उच्च गुणस्तरीय रङ्गीन प्रिन्ट गर्ने सेवाको शुभारम्भ गरेको हो। चार युवा उद्यमी जीवन थापा, बसन्त चन्द, बिमल खत्री र विशाल भारतीको संयुक्त लगानीमा स्थापना गरिएको कम्पनीले अत्याधुनिक DTF प्रविधिमार्फत टी–सर्ट, क्याप, ब्याग, हुडी, जर्सी लगायतका विभिन्न कपडामा आकर्षक र टिकाउ रङ्गीन प्रिन्ट गर्ने सेवा सुरु गरेको छ।कम्पनीका अध्यक्ष बसन्त चन्दले रिबन काटेर सेवाको औपचारिक शुभारम्भ गर्दै पछिल्लो समय युवाहरू रोजगारीका लागि विदेशिने क्रम तीव्र भइरहेका बेला स्वदेशमै उद्यम, रोजगारी र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले यो व्यवसाय सञ्चालनमा ल्याइएको बताए। उनले गुणस्तरीय सेवा, आधुनिक प्रविधि र उचित मूल्यमार्फत बुटवलसहित आसपासका क्षेत्रका ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीका सञ्चालक जीवन थापाले बुटवल तथा आसपासका क्षेत्रमा आधुनिक DTF प्रिन्टिङ सेवाको अभाव रहेको उल्लेख गर्दै त्यसको आवश्यकता महसुस भएपछि व्यवसाय सुरु गरिएको बताए। “बुटवल क्षेत्रका सेवाग्राहीले सामान्य प्रिन्टिङका लागि पनि बाहिरका शहर धाउनुपर्ने अवस्था थियो। अब अत्याधुनिक DTF प्रविधिबाट गुणस्तरीय, आकर्षक र टिकाउ प्रिन्ट स्थानीय स्तरमै सहज र सुलभ रूपमा उपलब्ध गराउने हाम्रो लक्ष्य हो। यो केवल व्यवसाय मात्र होइन, स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारीलाई प्रोत्साहन गर्ने अभियान पनि हो,” थापाले भने।प्रिन्टओरा प्रालिको सञ्चालनसँगै बुटवल क्षेत्रमा पहिलो पटक आधुनिक DTF प्रविधिबाट कपडामा रङ्गीन तथा दीर्घकालीन प्रिन्टिङ सेवा उपलब्ध हुने भएको छ। यसले व्यवसायिक संस्था, विद्यालय, क्लब, संघसंस्था तथा व्यक्तिगत प्रयोजनका लागि गुणस्तरीय प्रिन्टिङ सेवामा नयाँ विकल्प थप्ने विश्वास गरिएको छ।









