सीमा सहजीकरणका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बिआइटी) परिचालन
प्रकाशित मिति:
डिलाराम भुसाल कपिलबस्तु १० साउन – सीमा सहजीकरण तथा सीमा ईलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (BIT) परिचालन गरिएको छ । आज साउन १० गतेदेखि सीमा ईलाकाको मुख्य नाकाहरु झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा एक ठाउँमा १४ जना रहने गरि टोली परिचालन गरिएको बताएको छ । सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रहि सीमाको मुख्य नाकाहरुमा परिचालन हुनेछन् । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले आईतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिनु हुँदै टोलि परिचालन को शुभारम्भ गर्नुकासाथै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापका बारेमा समेत जानकारी लिनएको बताएको छ । सो टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र बृद्धबृद्धाहरुको सहजीकरण, मावन वेचविखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागूऔषध, वन्यजन्तु लगायतका सामाग्रीहरुको निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाईका साथ काम गर्नेछ । सो टोलीबाट सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा नियकाहरुसँग समन्वयमा सीमा ईलाकामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रण लगायतका अन्य अप्रेशनल कामकारवाहीमा समेत सहयोग पुग्ने विश्वास लिईएको बताएको छ । मुख्य सीमा नाकाहरुमा परिचालन हुने सो टोलीमा प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारी सहित बिहान ६ बजे देखि सांझ ८ बजे सम्म सादा पोषाक (सफारी सुट)मा रहने बताएको छ ।









