अध्यक्ष–उपाध्यक्ष दुवै पद रिक्त हुँदा पाल्हीनन्दन गाउँपालिकामा नेतृत्व विहीनताको संकट गहिरियो

प्रकाशित मिति:

 

उपाध्यक्ष फातुमा खातुनको रिट सर्वोच्चबाट खारेज, अध्यक्ष–उपाध्यक्ष दुवै पद रिक्त हुँदा अन्योल

प्रकाश न्यौपाने
साउन १२ गते
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका यतिबेला नेतृत्वविहीनताको संकटमा पुगेको छ। अध्यक्ष बैजुप्रसाद गुप्ताको पद यसअघि नै रिक्त भइसकेको अवस्थामा उपाध्यक्ष फातुमा खातुनले दायर गर्नुभएको रिट सर्वोच्च अदालतबाट खारेज भएपछि गाउँपालिकाको राजनीतिक तथा प्रशासनिक नेतृत्व थप अन्योलमा परेको छ।


नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष खातुनले आफूलाई पुनः उपाध्यक्षको हैसियतमा कामकाज गर्न दिन माग गर्दै अन्तरिम आदेशसहित उत्प्रेषणको रिट दायर गर्नुभएको थियो। तर सर्वोच्च अदालतका न्यायाधीश शारदा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट खारेज गरेपछि उहाँको पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय यथावत् रहने भएको छ।


प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको आधिकारिक उम्मेदवारविपरीत अन्य दलका उम्मेदवारको पक्षमा मत मागेको आरोपमा नेपाली कांग्रेस केन्द्रीय समितिले कारबाहीका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा निर्वाचन आयोगले गत असार ९ गते सूचना प्रकाशित गर्दै खातुनलाई पदमुक्त गरेको थियो। आयोगको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै उहाँ सर्वोच्च अदालत पुग्नुभएको भए पनि अदालतबाट राहत पाउन सक्नु भएन।

यसअघि पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दर्ता भएपछि उहाँको पद पनि रिक्त भइसकेको छ। अध्यक्ष र उपाध्यक्ष दुवै पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाको नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्न अहिले स्थानीय तहमा प्रमुख चासोको विषय बनेको छ।


स्थानीय सरकार सञ्चालनको निरन्तरता, कार्यपालिका बैठक सञ्चालन, विकास निर्माणका निर्णय, योजना कार्यान्वयन तथा सेवा प्रवाहमा नेतृत्वको अभावले असर पर्न सक्ने भन्दै स्थानीयवासीले शीघ्र कानुनी निकासको अपेक्षा गरेका छन्। जनप्रतिनिधिको नेतृत्व कमजोर हुँदा प्रशासनिक संयन्त्रले नियमित काम अघि बढाए पनि नीतिगत तथा दीर्घकालीन निर्णयमा कठिनाइ उत्पन्न हुने देखिएको छ।


सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै पाल्हीनन्दनको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ। अब गाउँपालिकाको नेतृत्व व्यवस्थापन कसरी हुन्छ, रिक्त पदको पूर्ति वा कार्यवाहक नेतृत्व सम्बन्धी प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा सम्बन्धित निकायको निर्णयलाई सबैले प्रतीक्षाका साथ हेरिरहेका छन्।

थप समाचार