साउन १४ । देशको समग्र शान्ति सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्ने भएको छ । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको अध्यक्षतामा बिहान ११ः३० बजे बैठक आह्वान गरिएको हो ।
बैठकमा हालै सुनसरीमा भएको घटना सहित देशभरको सुरक्षा अवस्था, सुरक्षा निकायबीचको समन्वय तथा आवश्यक रणनीतिका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। पछिल्ला सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीतिगत निर्णय र सुझावबारे पनि बैठकमा विचार हुने अपेक्षा गरिएको छ ।
संविधान अनुसार राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापति सदस्य रहने व्यवस्था छ । रक्षा सचिवले परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने प्रावधान रहेको छ ।
परिषद्ले नेपाली सेनाको परिचालन तथा नियन्त्रणसम्बन्धी विषयमा सरकारलाई सिफारिस गर्ने, सेनाको सुदृढीकरण र आधुनिकीकरणका लागि कार्ययोजना तयार गर्ने, सुरक्षा निकायका लागि आवश्यक हातहतियार तथा उपकरणसम्बन्धी नीति निर्माण गर्ने र राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा सरकारलाई आवश्यक राय सल्लाह दिने संवैधानिक जिम्मेवारी निर्वाह गर्दै आएको छ ।









