बुटवल । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजको अगुवाइमा सद्भाव र्याली निकालिएको छ । सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्याली निकालिएको हो । र्यालीमा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा, कानून व्यवसायी लगायतको बाक्लो सहभागिता थियो ।राष्ट्रिय स्वतन्त्रताका लागि नागरिक मञ्चका अध्यक्ष अधिवक्ता पदम कार्की, सामाजिक अभियन्ता विरेन्द्र विक, मानव अधिकारकर्मी गोविन्द खनाल लगायतको अगुवाइमा सदियौंदेखि नेपालमा कायम सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई खल्बलिन नदिन र थप सुदृढ बनाउन र्यालीमा सहभागी सबै पक्षलाई अपील गरिएको छ । सुनसरीको देवानगञ्जमा गत साउन १० गते भएको घटनामा प्रहरीको गोली लागेर ओमप्रकाश महतोको मृत्यु र सुरक्षाकर्मीसहित २० जना बढी घाइते भएका थिए । त्यसपछि सुनसरीका विभिन्न ५ ठाउँ आसपास कर्फ्यु लगाइएको छ । उक्त घटनालाई लिएर विराटनगर, सिरहा, सप्तरीमा समेत विरोध प्रदर्शनहरु भएका छन् ।
र्यालीपछि सञ्चारकर्मीसँग बोल्दै सामाजिक अभियन्ता विरेन्द्र विकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरे । शान्तिपूर्ण रूपमा आफ्ना धारणा राख्ने नागरिकमाथि अनावश्यक बल प्रयोग, दमन तथा मानवअधिकार विपरीतका गतिविधि नगर्न पनि सरकारलाई उनले सचेत गराए । ‘सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक तथा सामाजिक संघसंस्था, नागरिक अभियन्ता, बुद्धिजीवी र सञ्चारमाध्यम सबैले उच्च जिम्मेवारीका साथ संयमता अपनाउन र सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप बलियो बनाउन हाम्रो अपील छ,’ विकले भने, ‘मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचारको जिम्मेवारी सरकारले लिनुपर्छ ।’









