श्याम बुचा- सुस्ता – भारतबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको केरा पश्चिम नवलपरासीका स्थानीय तथा केरा उत्पादक किसानहरूले नियन्त्रणमा लिएका छन् ।सीमा नाका तथा नारायणी नदी क्षेत्रबाट भन्सार छलेर अवैध रूपमा नेपाल ल्याउँदै गरिएको अवस्थामा सुस्ता ४ नर्सहीका स्थानीयबासी र केरा उत्पादक किसानहरुले सवारी साधनसहित केरा नियन्त्रणमा लिएका हुन् ।केही स्थानीय तस्करहरुले मोटो पैसा कमाउने उद्देश्यले भारतमा सस्तो केरा खरिद गरि अवैध रूपमा चोरीको बाटो प्रयोग गरि नेपाल भित्र्याउने र स्थानीय उत्पादनको फर्जी बिल ९कागजात० बनाई काठमाडौँ, पोखरा,दाङ,बुटवल,सुर्खेत लगायतका मुख्य सहरहरूमा पठाउने केही तस्करहरु सक्रिय हुन थालेका छन् ।
नेपाल भारतको सिमामा सुरक्षाकर्मीबाट कडा निगरानी हुन थालेपछि र नेपाल सरकारले भारतीय केराको भन्सार बन्द गरिदिए पछि यतिखेर नेपाली केराले राम्रो मुल्य पाएका छन ।सोही नेपाली केराले बजारमा राम्रो मुल्य पाएको मौका छोपी केही तस्करहरुले नेपाली केरा तयार भइरहेकै बेला सस्तो मूल्यका भारतीय केरा अवैध रूपमा ल्याउन लाग्दा स्थानीय उत्पादनले केही मात्रामा बजार पाउन छाडेपछि किसानहरू आफैं निगरानीमा उत्रिएका हुन ।शुक्रबार मात्र किसानहरुले चार लाख बराबरका भारतीय केरासहित ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नवलपरासीको सीमा नाकासँग जोडिएको भारतीय खड्डा क्षेत्रबाट मोटरजडित डुङ्गामा ल्याएर गण्डक बाँधको ६ नम्बर ठोक्कर नजिकमा उक्त केरा राखिएको थियो ।प्रतापपुरका एक व्यापारीले लु ३ त ३५६० नम्बरको ट्याक्टरमा लोड गरेर लैजान लागेको अवस्थामा किसानहरुले केरा नियन्त्रणमा लिएको केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले जानकारी दिए ।
नारायणी नदी हुँदै मोटर जडित डुङ्गाबाट केरा ल्याएर गण्डक बाँधका विभिन्न स्थानमा ल्याउने गरिएको र त्यहाँबाट ट्याक्टर र पिकअपमा लोड गरेर लैजाने गरेको किसानहरुले बताएका छन् ।सीमा नाकामा प्रहरीको निगरानी बढेपछि अहिले तस्करहरुले फरक शैली अपनाएर नारायणी नदीमार्फत डुङ्गा प्रयोग गरेर केरा भित्र्याउन थालेको बताइएको छ ।









