बुटवल । रुपन्देहीमा विभिन्न होटल, रेष्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरू संगठित भएका छन् । जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सेफहरूलाई एकजुट गर्दै आइतबार ‘रुपन्देही सेफ सोसाइटी’ गठन गरिएको हो ।आइतबार बुटवलमा भएको सेफहरूको भेलाले हिरा सोनीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सोसाइटीको उपाध्यक्षमा कृष्ण तिवारी, सचिवमा सन्दिप बयम्बु, सहसचिवमा यादव पराजुली र कोषाध्यक्षमा विष्णु कुँवर चयन भएका छन् ।त्यस्तै सदस्यहरूमा राजेन्द्र घिमिरे, देउखर्क आचार्य, वीरबहादुर सिन्जाली, मनोज थापा र भोजराज सापकोटा रहेका छन् ।सोसाइटीको पहिलो बैठकले संस्थालाई आवश्यक सुझाव तथा मार्गदर्शनका लागि विभिन्न व्यक्तिहरूलाई सल्लाहकारसमेत चयन गरेको छ । सल्लाहकारमा राहुल राई, सन्तोष अर्याल, टेक विष्ट, एलबी कौशल, देवीलाल सोमई, नारायण पहराई, माधवकुमार खनाल, कृष्ण भण्डारी, खुमबहादुर बस्नेत र कृष्ण अधिकारी रहेका छन् । यस्तै प्रेस सल्लाहकारमा पत्रकार सन्त कुमार श्रेष्ठलाई चयन गरिएको छ ।
यसअघि भएको औपचारिक कार्यक्रममा इन्टरनेशनल नेप्लिज सेफ सोसाइटीका महासचिव तथा वरिष्ठ सेफ अनिल कुँवरले कार्यक्रमको उद्घाटन गर्दै नेपाली पाककला र नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।नेपाली सेफहरू क्षमता र दक्षताका हिसाबले उत्कृष्ट रहेको उल्लेख गर्दै कुँवरले आफ्नो कला, सीप र अनुभवलाई सामाजिक सञ्जालमार्फत विश्वसामु चिनाउन पनि आग्रह गरे । उनले नेपाली खानाको मौलिकता र पाककलालाई अन्तर्राष्ट्रिय फोरमसम्म पुर्याउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले सेफ पेशा आफैंमा महत्वपूर्ण र उत्कृष्ट पेशा भएको बताए । हस्पिटालिटी क्षेत्रको महत्वपूर्ण मेरुदण्डका रूपमा सेफहरू रहेको उल्लेख गर्दै उनले होटल व्यवसायी र सेफबीच नङ र मासुको जस्तै सम्बन्ध हुने बताए ।रुपन्देहीमा कार्यरत सेफहरूलाई एकजुट गर्दै संस्था स्थापना हुनु सकारात्मक कदम भएको भन्दै खनालले आगामी दिनमा सेफ सोसाइटीसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए । सेफ एशोसिएसनको सिफारिसका आधारमा होटलमा रोजगारीको अवसर सिर्जना गर्नेसम्मको सहकार्य गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो ।
‘हामीले सेफहरूको सेफ गर्छौं ।’ खनालले भने । रुपन्देहीमा हस्पिटालिटी क्षेत्रमा पर्याप्त सम्भावना रहेको र त्यसलाई प्रमाणित गर्ने आधारसमेत सेफहरूको यो संगठनले तयार गर्ने उनले बताए ।कार्यक्रममा सेफ कृष्ण तिवारीले आफ्नो तीन दशक लामो व्यावसायिक अनुभव सुनाउँदै सेफ पेशामा निरन्तर सिकाइ र मेहनत आवश्यक रहेको बताए । उनले सन् १९९५ मा भारतमा रेष्टुरेन्टबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको र त्यसपछि स्टार होटल हुँदै दुबईको सेभेन स्टार होटल तथा मरिससमा समेत काम गरेको अनुभव सुनाए । लामो समयको अन्तर्राष्ट्रिय अनुभवपछि पुनः नेपाल फर्किएर क्लब डेभेनोमा काम गरेको उनले जानकारी दिए ।सेफका लागि विभिन्न परिकार र खानाको भेराइटीबारे राम्रो ज्ञान हुनु आवश्यक रहेको बताउँदै तिवारीले समयअनुसार नयाँ प्रविधि, परिकार र पाककलाका विषयमा निरन्तर ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए । ३० वर्ष लामो अनुभवबाट आफूले सिकेको कुरा सुनाउँदै उनले नयाँ पुस्ताका सेफहरूले पनि निरन्तर सिकाइलाई आफ्नो पेशाको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने बताए ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हिरा सोनी, खत्री ग्रुपका सञ्चालक विष्णु भुषाल तथा सेफ सन्तोष अर्यालले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले किचनको स्वच्छता, सुरक्षा र सेफको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका थिए ।
उनीहरूले गुणस्तरीय र स्वस्थकर खाना तयार गर्न सेफको दक्षतासँगै किचनको व्यवस्थापन, सरसफाइ र खाद्य सुरक्षामा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।रुपन्देहीमा सेफहरूका लागि साझा संस्था गठन भएपछि पेशागत हकहित, सीप विकास, रोजगारीका अवसर, तालिम तथा नेपाली मौलिक खानाको प्रवर्द्धनमा काम गर्ने अपेक्षा गरिएको छ ।कार्यक्रममा रुपन्देहीका विभिन्न होटल तथा रेष्टुरेन्टमा कार्यरत ६० भन्दा बढी सेफहरूको सहभागिता रहेको थियो ।









