२८६ मिटर उचाइको बन्जी जम्पले बदलिँदै गल्याङको पर्यटन पहिचान 

प्रकाशित मिति:

भाद्र ५, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा साहसिक पर्यटनको नयाँ अध्याय सुरु हुने भएको छ । आधीखोलाको प्राकृतिक भूगोललाई केन्द्रमा राखेर गल्याङ ८ चिउरीभिर देखि वडा नं. ७ पेलाकोटसम्म फैलिने गरी बन्जी जम्प सहित ९ वटा साहसिक पर्यटन परियोजना निर्माणको तयारी अघि बढाइएको हो । सिद्धार्थ राजमार्गसँगै रहेको चिउरी भिरबाट आधीखोलाको अर्को किनार पेलाकोटसम्म परियोजनाका संरचना विस्तार गरिनेछन् । एउटै क्षेत्रमा साहसिक खेल, मनोरञ्जन, दृश्यावलोकन र आतिथ्य सेवा समेत उपलब्ध गराउने गरी परियोजनाको अवधारणा तयार गरिएको छ । परियोजनाको मुख्य आकर्षणका रूपमा २८६ मिटर अग्लो बन्जी जम्प निर्माण गरिनेछ । यससँगै स्विमिङ, स्काइ साइकलिङ, चेयरलिफ्ट, जिपलाइन, स्काइ डिनर, रक क्लाइम्बिङ, स्काइ ब्रिज र रिसोर्ट निर्माण गर्ने योजना रहेको छ ।
गरिमा होल्डिङको सहायक कम्पनी गरिमा एडभेन्चर प्रालि. ले परियोजना अघि बढाउन लागेको हो । परियोजनाका लागि आवश्यक जग्गा खरिद प्रक्रिया पूरा भइसकेको कम्पनीका अध्यक्ष श्याम बस्यालले जानकारी दिनुभयो ।

बस्यालका अनुसार आगामी असोजदेखि निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ । सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी राजमार्गबाटै सहज पहुँच हुने स्थानमा परियोजना विकास गर्न लागिएको उहाँले बताउनुभयो ।
आधीखोलाको गहिरो खोँच, पहाडी भू–बनोट र आसपासको प्राकृतिक दृश्यलाई साहसिक गतिविधिसँग जोडेर नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने कम्पनीको लक्ष्य रहेको छ । चिउरीभिरबाट सुरु हुने संरचनालाई पेलाकोट तर्फका गतिविधिसँग जोडेर पर्यटकलाई एउटै क्षेत्रमा विभिन्न अनुभव प्रदान गर्ने योजना बनाइएको छ । २८६ मिटर उचाइको बन्जी जम्प निर्माण भएपछि गल्याङको पर्यटन पहिचानलाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ । कम्पनीले बन्जीको डिजाइन विश्वस्तरीय साहसिक पर्यटन संरचनासँग प्रतिस्पर्धा गर्न सक्ने गरी तयार पारिएको जनाएको छ । परियोजना निर्माणपछि गल्याङमा पर्यटकको आवागमन बढ्नुका साथै होटल, यातायात, स्थानीय उत्पादन तथा अन्य सेवा व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । स्थानीय युवाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र आसपासको आर्थिक गतिविधि चलायमान बन्ने विश्वास गरिएको छ ।

कम्पनीले निर्माण सम्पन्न भएपछि आवश्यक प्राविधिक तथा सुरक्षा मापदण्ड पूरा गरी बन्जी जम्पलाई Guinness World Records मा दाबी गर्ने लक्ष्य समेत राखेको जनाएको छ ।साहसिक पर्यटनका लागि चर्चित गन्तव्यहरू थपिँदै गएको अवस्थामा गल्याङमा निर्माण हुन लागेको यो परियोजनाले स्याङ्जाको पर्यटन नक्सामा नयाँ आकर्षण थप्ने देखिएको छ ।