नारायणी नदीबाटै तस्करीको नयाँ रुट? सुस्तामा प्रहरीको ‘सेटिङ’माथि गम्भीर प्रश्न
श्याम बुचा-सुस्ता ७ भदौ-पश्चिम नवलपरासीको नेपाल–भारत सीमावर्ती सुस्ता क्षेत्रमा तस्करीको गतिविधि बढ्दै गएको स्थानीयको गुनासो छ ।विशेषगरी नारायणी नदीलाई प्रयोग गरी डुङ्गाबाट फर्सीको बीउ, लसुन, सुपारी, मकै लगायतका खाद्यान्न तथा अन्य सामान भारततर्फ लैजाने गरेको स्थानीयको दाबी छ ।स्थानीयका अनुसार नारायणी नदीको बाटो हुँदै रातको समयमा डुङ्गा प्रयोग गरी सामान भारततर्फ पुर्याउने गतिविधि हुने गरेको छ ।नदीको भौगोलिक अवस्था र सीमाक्षेत्रमा रहेका विभिन्न पहुँचमार्गका कारण तस्करहरूले यसलाई वैकल्पिक रुटका रूपमा प्रयोग गरिरहेको उनीहरूको भनाइ छ ।
सुस्ता गाउँपालिका–३,४ र वडा न ५ को क्षेत्रमा नारायणी नदी हुँदै डुङ्गाबाट अवैध रूपमा सामान ओसारपसार भइरहेको सामग्री समेत पछिल्लो समय सार्वजनिक भएको छ । भने गएराती सुस्ता ३ स्थित ठोकर न ६ नारायणी नदि किनारमा ढुङ्गामा लोड हुँदै गरेको ४ पिकअप गाडीमा रहेको फर्सीको बिउँको ३ वटा गाडीलाई प्रहरी प्रशासनले मिलेर छोडेको र १ वटा गाडी देखाउनको लागि मात्र नियन्त्रणमा लिइएको स्थानीयबासीले आरोप संगै आशन्का गरेका छन् ।प्रहरीकै ‘सेटिङ’मा तस्करी भइरहेको स्थानीयको आरोप सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहे पनि तस्करी नरोकिएपछि स्थानीयले सुरक्षा निकायको भूमिका माथि प्रश्न उठाएका छन् ।स्थानीयका अनुसार सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बलिनगरका सशस्त्र प्रहरी निरीक्षक कृष्ण हरि गिरिले स्थानीयबासीलाई देखाउनको लागि मात्र नारायणी नदिको छेउछाउमा रहेको ठोकरहरुमा डिउटी खटाउने गरेको र रातको कुनै समय मिलाएर तस्करहरुलाई १/२ घण्टाको समय अवैध सामान पास गराउनको लागि लाईन(समय) दिने गरेको नाम नबताउने शर्तमा एक स्थानीयले बताए ।
स्थानीय स्रोतहरूको दाबी अनुसार तस्करहरूले सुरक्षा निकायसँग मिलेमतो गरी निश्चित रकम बुझाउने र त्यसपछि सामान नदी हुँदै भारततर्फ लैजाने गरेको आरोप छ ।विशेषगरी कुन समयमा सामान लैजाने, कुन स्थानबाट नदीमा डुङ्गा उतार्ने र कुन बाटो प्रयोग गर्ने भन्ने विषयमा समेत सशस्त्र प्रहरी निरीक्षक गिरिसंग पहिले नै ‘समझदारी’ हुने गरेको एक व्यापारीले भने ।यद्यपि, प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा तस्करी भइरहेको भन्ने आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । त्यसैले सम्बन्धित सुरक्षा निकायमाथि निष्पक्ष छानबिन आवश्यक देखिन्छ ।फर्सीको बीउदेखि लसुन र मकैसम्म स्थानीयका अनुसार सुस्ताबाट भारततर्फ जाने तस्करीका सामानमा फर्सीको बीउ, लसुन, सुपारी, मकै लगायतका खाद्यान्न तथा कृषि उपजहरू प्रमुख छन् ।यी सामान सामान्य व्यापारका रूपमा नभई भन्सार प्रक्रिया छल्दै नदीको बाटोबाट लैजाने गरिएको आरोप छ।यसरी खाद्यान्न तथा कृषि उपज अवैध रूपमा बाहिरिँदा राज्यले राजस्व गुमाउने मात्र नभई सीमाक्षेत्रमा अवैध व्यापारको सञ्जाल थप बलियो हुने जोखिम रहेको स्थानीय बताउँछन् ।
सुरक्षा उपस्थिति बढे पनि तस्करी किन रोकिएन?-सुस्ता संवेदनशील सीमाक्षेत्र भएकाले पछिल्लो समय सुरक्षा उपस्थिति बढाउने विषयमा समेत चर्चा हुँदै आएको छ। तर सुरक्षा उपस्थिति बढेको भनिए पनि नदीबाटै सामान भारततर्फ जाने गरेको आरोप निरन्तर आउनुले सीमा सुरक्षाको वास्तविक प्रभावकारिता माथि प्रश्न खडा गरेको छ ।स्थानीयको प्रश्न छ-यदि नारायणी नदीबाट नियमित रूपमा डुङ्गा आवतजावत गरेर सामान भारततर्फ लैजाने गरिएको हो भने सुरक्षाकर्मीको निगरानीबाट यो कसरी छुटिरहेको छ? यदि सुरक्षा निकायको जानकारीबिना तस्करी भइरहेको हो भने निगरानी संयन्त्र कहाँ कमजोर छ? र यदि जानकारी हुँदाहुँदै पनि रोकिएको छैन भने त्यसको जिम्मेवारी कसले लिने?









