एमसीसीअन्तर्गत नेपाल-भारत सीमापार प्रसारण लाइन सम्पन्न, औपचारिक हस्तान्तरण

प्रकाशित मिति:

पुरुषोत्तम सुवेदी-पश्चिम नवलपरासी, भदौ २९ गते । मिलिनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० परियोजनाअन्तर्गत ४०० केभी न्यु बुटवल सबस्टेसन – पश्चिम नवलपरासी देखि नेपाल–भारत सीमासम्म जोड्ने सीमापार प्रसारण लाइन निर्माणको काम तोकिएकै समयमा सम्पन्न भई हस्तान्तरण गरिएको छ।मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति ९एमसिए–नेपाल० ले शिलान्यास भएको नौ महिनाभित्रै पश्चिम नवलपरासीको सुनवल–१३ सूर्यवस्तीदेखि भारतीय सीमासम्मको १८ किलोमिटर खण्डमा ५३ वटा टावर निर्माण गरी काम पूरा गरेको हो ।

९ महिनामै नवलपरासी खण्डको काम पूरा-प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा नवलपरासीको सुनवल सुर्यबस्तीमा आयोजित एक कार्यक्रमका बीच नवलपरासी खण्ड निर्माणको काम सकिएसँगै औपचारिक हस्तान्तरण गरिएको छ।कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपालका अध्यक्ष डा। घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीले ऊर्जा क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको बताउनुभयो।यस्तै, एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले नेपालको ऊर्जा व्यापारमा यो महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै साझा लक्ष्यका लागि एकजुट भएर काम गर्दा सकारात्मक परिणाम हासिल हुने पुष्टि भएको बताउनुभयो।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले समयमै प्रसारण लाइन निर्माण हुनुले विद्युतीय पूर्वाधार सुदृढ गर्ने र सीमापार विद्युत् सम्पर्क विस्तार गर्ने नेपालको प्रयासलाई प्रमाणित गरेको बताउनुभयो।नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यो सुदृढ विद्युत् सञ्जालबाट नेपाल र भारतबीच ऊर्जा व्यापारका बृहत् लाभ हासिल गर्न नेपाल थप सक्षम बनेको धारणा राख्नुभयो।

बाँकी प्रक्रिया र आगामी योजना-नेपालतर्फको १८ किमि प्रसारण लाइन खण्ड पूरा भएसँगै सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालले गर्नुपर्ने भौतिक निर्माण कार्य पूर्ण रूपमा सकिएको छ। अब उक्त प्रसारण लाइनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याउनुअघि नेपाल(भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक प्राविधिक कार्य तथा प्रशासनिक स्वीकृतिका बाँकी प्रक्रिया अगाडि बढाइनेछ।उक्त प्रसारण लाइनको शिलान्यास गत वर्षको मङ्सिरमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा गर्नुभएको थियो। प्रसारण लाइन निर्माणका लागि हालसम्म झन्डै १ अर्ब २४ करोड रुपैयाँ बराबरको मुआब्जा वितरण भइसकेको छ भने बाँकी जग्गाको मुआब्जा वितरण प्रक्रियामा रहेको छ।समग्र एमसीसी परियोजनाअन्तर्गत नेपालमा ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै प्राविधिक सहयोगका कार्यहरू जारी छन्। जसमध्ये अन्तरदेश जोड्ने यो प्रसारण लाइन पहिलो सफल खण्डका रूपमा सम्पन्न भएको हो ।