सैनामैनामा युवाका समस्या पहिचान, ‘लागुऔषध देखि विभेदसम्मका मुद्दा उठाइए’

प्रकाशित मिति:

३० भदौ, बुटवल । सैनामैना नगरपालिकामा सीमान्तकृत, आदिवासी जनजाति, दलित, महिला तथा युवाले भोग्दै आएका समस्या र चुनौती पहिचान गरी समाधानका लागि पैरवी गर्नुपर्नेमा जोड दिइएको छ । सैनामैना नगरपालिका–६ स्थित वडा कार्यालयको सभाहल, कलौनीमा शुक्रबार आयोजित ‘युवा मुद्दा पहिचान, प्राथमिकता निर्धारण तथा पैरवी रणनीति विकास’ सम्बन्धी छलफल कार्यक्रममा सहभागीहरूले नगर क्षेत्रमा युवालगायत सीमान्तकृत समुदायले भोग्दै आएका विभिन्न समस्याका विषयमा छलफल गरेका हुन् ।

कार्यक्रममा लागुऔषध तथा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग, हिंसा, मानसिक तथा मनोसामाजिक समस्या, जातीय तथा सामाजिक विभेद, स्थानीय योजना निर्माणमा युवाको सहभागिता, लैङ्गिक समानता, समावेशी सीप तथा क्षमता विकास, डिजिटल प्रविधिको असुरक्षित तथा अत्यधिक प्रयोगलगायतका विषय प्रमुख रूपमा उठाइएको थियो । त्यस्तै, स्थानीय तहका योजना, बजेट तथा अवसरमा पहुँचवालाको प्रभाव बढ्ने र गरिब, विपन्न तथा सीमान्तकृत समुदाय पछाडि पर्ने अवस्था रहेको सहभागीहरूले बताएका थिए । सरकारी सेवा प्राप्त गर्ने प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा नागरिकले समस्या भोग्नुपरेको तथा दलित, अपाङ्गता भएका व्यक्ति र अन्य सीमान्तकृत समुदायको सार्वजनिक कार्यक्रम तथा अवसरमा अर्थपूर्ण सहभागिता अझै बढाउनुपर्नेमा समेत जोड दिइएको थियो । युवामा बढ्दो बेरोजगारी, रोजगारीका सीमित अवसर, सीपअनुसारको काम तथा उचित पारिश्रमिकको अभावका कारण वैदेशिक रोजगारीतर्फ आकर्षित हुनुपर्ने अवस्था रहेको विषय पनि छलफलमा आएको थियो । विद्यालय उमेरका बालबालिका तथा युवामा लागुऔषध र सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको भन्दै विद्यालय तथा विद्यालय आसपासका क्षेत्रमा प्रभावकारी अनुगमन र नियन्त्रण आवश्यक रहेको सहभागीहरूको भनाइ थियो । छलफलमा किरण युवा क्लबका अध्यक्ष सगर विश्वकर्म, निर्माण कानुन समाजका सदस्य निश्चल ज्ञवाली, अपाङ्गता समुदायका प्रतिनिधि तथा सामाजिक अभियन्ता सीता दर्नाल, सैनामैना कानुन विद्यार्थी समाजकी सचिव मिना खनाल र अपाङ्ग पुनःस्थापना केन्द्रका उपाध्यक्ष नीरबहादुर पुलामी लगायतले स्थानीय स्तरमा देखिएका समस्या र समाधानका उपायबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा सहभागीहरूले समस्या पहिचानसँगै त्यसको प्राथमिकता निर्धारण गरी स्थानीय सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र नीतिगत तथा व्यवहारिक समाधानका लागि संयुक्त रूपमा पैरवी गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा भएको कार्यक्रम सेन्टर फर इन्टरनेशनल स्टडिज एण्ड कोअपरेसन (सेसी)को आर्थिक सहयोग तथा प्रो–पब्लिकको प्राविधिक सहयोग तथा सैनामैना वडा नं ६ को समन्वयमा सम्पन्न कार्यक्रममा परियोजनाका लुम्बिनी प्रदेश संयोजक कमला शुक्ला र परियोजनाका सीईएफ कमल चौधरीले सहजीकरण गरेका थिए ।