हिलपार्कमा बन्यो सप्तऋषि धाम, मूर्तिको प्राणप्रतिष्ठा सम्पन्न

प्रकाशित मिति:

बुटवल । बुटवल–७ हिलपार्कमा निर्माण गरिएको ‘सप्तऋषि धाम नेपाल’मा सप्तऋषिसहित अरुन्धतीको मूर्तिको प्राणप्रतिष्ठा सम्पन्न भएको छ। काश्यप गोत्र पाण्डे समाजको पहलमा निर्माण गरिएको धाममा भदौ २९ गते विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।विशेष कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेलगायत धार्मिक, सामाजिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।कार्यक्रममा प्रमुख अतिथि स्वामी ज्ञानानन्द सरस्वती महाराजले धर्म, संस्कार र संस्कृति समाजको पहिचानसँग जोडिएको बताए। उनले धार्मिक स्थललाई केवल पूजाआजा गर्ने ठाउँका रूपमा सीमित नराखी ज्ञान, संस्कार, अध्यात्म र सामाजिक एकताको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

उनले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्न यस्ता प्रयास महत्वपूर्ण हुने बताउँदै सप्तऋषि धामले धार्मिक तथा आध्यात्मिक चेतना विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।त्यस्तै, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सप्तऋषि धामले बुटवलको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने बताए। उनले धामलाई व्यवस्थित रूपमा विकास गर्दै धार्मिक पर्यटनसँग जोड्न सके हिलपार्क क्षेत्रको आकर्षण अझ बढ्ने धारणा राखे।नगर प्रमुख पाण्डेले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताउँदै सप्तऋषि धामलाई सबैको साझा स्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

काश्यप गोत्र पाण्डे समाजका अध्यक्ष यदुनाथ पाण्डेले सप्तऋषि धाम निर्माणको उद्देश्य धार्मिक आस्थासँगै वैदिक ज्ञान, संस्कार र संस्कृतिको संरक्षण गर्नु रहेको बताए। उनले ऋषि परम्परासँग जोडिएको ज्ञान र संस्कारलाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा धामलाई सबैको साझा धार्मिक एवं सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने योजना रहेको बताए।पाण्डेका अनुसार धाम निर्माणमा हालसम्म २ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। आगामी दिनमा धाममा नियमित धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै हिलपार्क क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने योजना रहेको उनले बताए।विशेष कार्यक्रममा धार्मिक प्रवचन, भजन तथा सांस्कृतिक प्रस्तुतिसहित विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। ऋषि पञ्चमीको अवसरमा आयोजित कार्यक्रमले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनको सन्देशसमेत दिएको आयोजकले जनाएको छ।